काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटा को संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गर्दै एन्फा पदाधिकारीहरूको विदेश भ्रमण रोक्न गरिएको पत्राचार तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
यसअघि जेठ २६ गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो।
घटनापछि नेम्वाङ र राईले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), गृह सचिव तथा अध्यागमन विभागलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए।
राखेपले एन्फाका पदाधिकारी तथा सदस्यहरूको अन्तर्राष्ट्रिय सहभागिता तथा वैदेशिक भ्रमण रोक्न अध्यागमन विभागलाई आवश्यक पत्राचार गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो।
उच्च अदालतले सो पत्रसहित विभिन्न सरकारी निकायबाट भएका पत्राचार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशसँगै एन्फा पदाधिकारीहरूको विदेश भ्रमणमा लगाइएको रोक अस्थायी रूपमा हटेको छ।

