काठमाडौँ । जोरपाटीमा रहेको टाइमलाइन स्कुलका विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा (एसइई) सतप्रतिशत उत्तीर्ण भएका छन् । एसईईमा सहभागी भएका ६८ जना विद्यार्थीले उच्च अंक ल्याएर उत्तीर्ण भएको विद्यालयको जनाएको छ ।
विद्यालयका अनुसार २ जना विद्यार्थीले ३.८७ जीपिए, १ जनाले ३.८६, २ जनाले ३.८४ र अन्य विद्यार्थीले उच्च अंक ल्याएर उत्तीर्ण गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान गत वर्षको एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।
दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

