२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे...

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलोपटक विश्वकप क्वाटरफाइनलमा

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलोपटक विश्वकप क्वाटरफाइनलमा

सोमवार, आषाढ २२ २०८३०५:४८
सोमवार, आषाढ २२ २०८३०५:४८
  • images

    काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ बाटै बाहिरिएको छ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सोमबार राति सम्पन्न खेलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिलको उपाधि यात्रा टुंगिएको हो।

    चौथोपटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। यता, ब्राजिल भने ३६ वर्षपछि पुनः अन्तिम १६ चरणबाटै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि ब्राजिल सन् १९९० को विश्वकपमा यसै चरणबाट बाहिरिएको थियो।

    नर्वेको ऐतिहासिक जितका नायक स्टार फरवार्ड एर्लिङ हालान्ड बने। उनले ७९औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने निर्धारित समयको ९०औँ मिनेटमा दोस्रो गोल थप्दै जित सुनिश्चित गरे।

    ब्राजिलका लागि कप्तान नेयमारले इन्जुरी समयको नवौँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

    अब नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    ब्राजिल र नर्वेबीच विश्वकपमा यसअघि भएका चार भेटमा पनि नर्वे अपराजित रहेको इतिहास छ। ती खेलमध्ये नर्वेले दुई जित निकालेको थियो भने दुई खेल बराबरीमा सकिएका थिए। यी दुई टोलीबीच विश्वकपमा पछिल्लोपटक सन् १९९८ मा भेट हुँदा पनि नर्वेले २–१ को पुनरागमन जित हात पारेको थियो।

    ब्राजिलले समूह चरणमा स्कटल्यान्ड र हाइटीलाई पराजित गरेको थियो भने मोरक्कोसँग बराबरी खेलेको थियो। अन्तिम ३२ को खेलमा जापानविरुद्ध एक गोलले पछि परेको अवस्थाबाट २–१ को पुनरागमन जित निकाल्दै अन्तिम १६ मा पुगेको थियो।

    २५ वर्षीय हालान्डका लागि यो पहिलो विश्वकप हो। उनले यस प्रतियोगितामा नर्वेले गरेका १२ गोलमध्ये सात गोलमा प्रत्यक्ष योगदान दिएका छन्, जसले उनको उत्कृष्ट प्रदर्शनलाई झनै उजागर गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend