काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित भएपछि ब्राजिलका स्टार फरवार्ड नेइमार मैदानमै भक्कानिएर रोएका छन्।
सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेसँग स्तब्ध बनेपछि पाँच पटकको विश्व विजेता ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको हो।
अन्तिम सिट्टी बज्नासाथ नेइमार मैदानमै थुचुक्क बसेर आँशु झारिरहेका दृश्य विश्वभर प्रत्यक्ष प्रसारणमा देखिएका थिए। ३४ वर्ष पुग्न लागेका नेइमारका लागि यो सम्भवतः अन्तिम विश्वकप भएकाले आफ्नै कप्तानीमा ब्राजिललाई छैटौं विश्वकप उपाधि दिलाउने सपना अधुरै रहँदा उनी भावुक बनेका थिए।
खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि इन्जुरी समयको अन्तिम क्षणमा नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले हार टार्न सकेन।
नेइमारले गोल गरेको केही सेकेन्डपछि नै रेफ्रीले खेल समाप्तिको सिट्टी बजाएपछि ब्राजिलका खेलाडीहरू निराश हुँदै मैदानमै ढलेका थिए। ब्राजिलको विश्वकप यात्राको अन्त्यसँगै नेइमारको अन्तर्राष्ट्रिय करिअर पनि अन्त्यतिर पुगेको अनुमान गरिएको छ।

