२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध...

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध ३ करोड ४५ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध ३ करोड ४५ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

सोमवार, आषाढ २२ २०८३१२:३८
सोमवार, आषाढ २२ २०८३१२:३८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध करिब ३ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गुप्ताले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि २०७४ असार २० देखि २०७९ असार २८ सम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। अनुसन्धानका क्रममा उनले वैधानिक रूपमा ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा आम्दानी गरेको देखिए पनि सोही अवधिमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

    आयोगका अनुसार गुप्ताको कुल वैधानिक आम्दानीभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च तथा लगानी भएको देखिएकाले उक्त रकम बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको निष्कर्ष निकालिएको हो। अनुसन्धानका क्रममा पेश गरिएको सम्पत्ति विवरण वास्तविक आय–व्ययसँग नमिलेको तथा अस्वाभाविक देखिएको आयोगको दाबी छ।

    अख्तियारले गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, बिगोबमोजिम जरिवाना तथा अवैध सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। साथै उनले वार्षिक सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेश गरेको आरोपसमेत लगाइएको छ।

    आयोगले गुप्ताले आर्जन गरेको भनिएको स्रोत नखुलेको सम्पत्तिबाट खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि प्रतिवादी कायम गरेको जनाएको छ। उनीहरूमाथि भने सम्पत्ति जफतसम्बन्धी कानुनी प्रयोजनका लागि मात्रै मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend