काठमाडौं। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित लोकप्रिय पेय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ८ मध्ये ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेको छ। कम्पनीले यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो प्रायोजन साझेदारीका रूपमा प्रस्तुत गरेको छ।
सोमबार आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरको औपचारिक सम्झौता गरेको हो। सम्झौतापत्रमा सम्बन्धित टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले हस्ताक्षर गरे।
सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ। यस अवधिमा टोलीहरूको खेल जर्सीको अगाडिको प्रमुख स्थानमा कम्पनीको लोगो रहनेछ।
कम्पनीका अनुसार यो सहकार्यले नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलमार्फत ब्रान्डको पहुँच थप विस्तार गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता भएकाले एकैपटक ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको स्पष्ट पारे ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुदमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहकार्य गर्दै आएको छ।
दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको लगानी र विश्वास थप सुदृढ हुँदै गएको संकेत गरेको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

