२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • १२ हजार रुपैयाँ घुससहित सिरहाका वन...

१२ हजार रुपैयाँ घुससहित सिरहाका वन अधिकृत रंगेहात पक्राउ

१२ हजार रुपैयाँ घुससहित सिरहाका वन अधिकृत रंगेहात पक्राउ

बुधवार, आषाढ २४ २०८३१०:१५
बुधवार, आषाढ २४ २०८३१०:१५
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

    अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए ।

    सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो । सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधिकृत यादवलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउसँगै घटनास्थलमा मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउ परेका वन अधिकृतलाई नियन्त्रणमा लिएर घटनास्थलमै आवश्यक कानुनी प्रक्रिया पूरा भइरहेको छ । प्रक्रिया सम्पन्न भएपछि थप अनुसन्धानका लागि उनलाई बर्दिबास कार्यालय लगिने तयारी गरिएको छ ।

    यस घटनापछि वन कार्यालयसँग सम्बन्धित सेवामा हुने अनियमितता र घुसखोरी नियन्त्रणका विषयमा पुनः बहस सुरु भएको छ । अख्तियारले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend