काठमाडौं । विशेष अदालतले घुसकाण्डमा दोषी ठहर गर्दै नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष छ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले व्यवसायी दीपक आनन्दसँग घुस लिएको अभियोगमा पौडेललाई आठ वर्ष कैदको सजाय तोकेको हो। उनी नेपाल सरकारको विशिष्ट तहको पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले थप छ महिना कैद पनि सजाय निर्धारण गरेको छ।
उक्त मुद्दामा घुस दिएको अभियोग लागेका व्यवसायी दीपक आनन्दलाई पनि अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ।
अदालतले पौडेललाई कैद सजायसँगै एक करोड ५४ लाख रुपैयाँ जरिवाना समेत गर्ने फैसला गरेको छ।
यो फैसला विशेष अदालतले सार्वजनिक पदमा बसेर घुस लिने र दिने दुवै पक्षविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा गरेको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।

