२०८३, आश्विन १९ गते

images

नेपालमा एआई शिक्षा र नवप्रवर्तन विस्तार गर्न सर्वम–एआईएआई साझेदारी, साउन ३० मा ‘सर्वम फरवार्ड नेपाल’ शुभारम्भ

नेपालमा एआई शिक्षा र नवप्रवर्तन विस्तार गर्न सर्वम–एआईएआई साझेदारी, साउन ३० मा ‘सर्वम फरवार्ड नेपाल’ शुभारम्भ

बिहिवार, आषाढ ३२ २०८३०६:२२
बिहिवार, आषाढ ३२ २०८३०६:२२
  • images

    काठमाडौँ । भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम र नेपालस्थित एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) बीच नेपालमा एआई शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन तथा जिम्मेवार एआई प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी भएको छ।

    असार २६ गते (१० जुलाई २०२६) सर्वमका सहसंस्थापक तथा निर्देशक डा. विवेक राघवन र एआईएआईका संस्थापक निर्देशक सुनिल केसी बीच हस्ताक्षर भएको समझदारीपत्र (एमओयू) अनुसार एआईएआईले नेपालको लागि सर्वमको कन्ट्री पार्टनर का रूपमा काम गर्नेछ। एआईएआई, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा)को भगिनी संस्था हो।

    सम्झौताअनुसार एआईएआईले ‘सर्वम फरवार्ड नेपाल’ कार्यक्रमको नेतृत्व गर्दै सर्वमको फुल स्ट्याक एआई प्लेटफर्म र प्राविधिक विशेषज्ञतालाई नेपालमा कार्यान्वयन गर्नेछ। यसका लागि विश्वविद्यालय, सार्वजनिक संस्था, निजी क्षेत्र, स्टार्टअप तथा विकास साझेदारसँग सहकार्य गर्दै एआई क्षमता विकास, तालिम, पाइलट परियोजना तथा इकोसिस्टम विस्तारका कार्यक्रम सञ्चालन गरिनेछ।

    यस कार्यक्रमको औपचारिक शुभारम्भ साउन ३० गते (१५ अगस्ट २०२६) काठमाडौंमा गरिने जनाइएको छ।

    सम्झौतापछि प्रतिक्रिया दिँदै सर्वमका सहसंस्थापक डा. विवेक राघवनले एआई स्थानीय भाषा र संस्थासँग जोडिएपछि मात्रै यसको वास्तविक प्रभाव देखिने बताए। नेपालसँग अर्थपूर्ण एआई क्षमता विकासका लागि आवश्यक प्रतिभा र संस्थागत सम्भावना रहेको उल्लेख गर्दै उनले एआईएआईसँगको सहकार्यमार्फत विद्यार्थी, शिक्षक, विकासकर्ता, सार्वजनिक संस्था र उद्यमलाई जिम्मेवार एआई प्रयोगमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    एआईएआईका संस्थापक निर्देशक सुनिल केसीले नेपाल एआईको केवल उपभोक्ता नभई निर्माता, नवप्रवर्तक र योगदानकर्ताको रूपमा स्थापित हुनुपर्नेमा जोड दिए। उनका अनुसार साझेदारीको मुख्य उद्देश्य विश्वविद्यालय, शिक्षक, युवा, सार्वजनिक संस्था र व्यवसायलाई व्यावहारिक तथा संस्थागत एआई क्षमता विकासमा सक्षम बनाउनु हो।

    साझेदारीअन्तर्गत एआई साक्षरता, विद्यार्थी तथा प्राध्यापक विकास, क्याम्पस एआई प्रणाली, विकासकर्ता कार्यक्रम, सार्वजनिक सेवा, स्टार्टअप प्रवर्द्धन, कार्यकारी शिक्षा, उद्यम एआई अपनत्व तथा स्थानीय भाषामा एआई अनुसन्धानका कार्यक्रम सञ्चालन गरिनेछन्।

    शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय, कलेज र विश्वविद्यालयका लागि एआई साक्षरता पाठ्यक्रम, प्राध्यापक तालिम, स्टुडेन्ट बिल्डर कोहोर्ट, विकासकर्ता बुटक्याम्प, क्याम्पस एआई सहायक तथा संस्थागत एआई रूपान्तरण कार्यक्रम विकास गरिने जनाइएको छ।

    सरकारी सेवा, स्वास्थ्य प्रशासन, डकुमेन्ट इन्टेलिजेन्स, नागरिक सूचना प्रणाली, उद्यम उत्पादकता तथा क्षेत्रगत चुनौती समाधानका लागि जिम्मेवार एआई प्रविधिको प्रयोग र विकासमा पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

    सार्वजनिक हितमा केन्द्रित ‘सर्वम फरवार्ड नेपाल’

    ‘सर्वम फरवार्ड नेपाल’ अन्तर्गत सार्वजनिक विश्वविद्यालय, सामुदायिक क्याम्पस, सरकारी विद्यालय, शिक्षक, विद्यार्थी, महिला, ग्रामीण समुदाय तथा पहुँचबाहिर रहेका संस्थासम्म एआई शिक्षा र जिम्मेवार प्रयोगको पहुँच विस्तार गरिनेछ।

    यस कार्यक्रममा निःशुल्क वा सहुलियतपूर्ण एआई साक्षरता पाठ्यक्रम, सार्वजनिक वेबिनार, महिला लक्षित एआई कार्यक्रम, ग्रामीण क्षमता विकास, छात्रवृत्ति, फेलोसिप तथा जिम्मेवार एआई कार्यशालाहरू सञ्चालन गर्ने योजना छ।

    नेपालीसहित स्थानीय भाषामा एआई अनुसन्धान

    सर्वम र एआईएआईले नेपालीसँगै मैथिली, भोजपुरी, थारु, नेपाल भाषा, तामाङ, मगरलगायत स्थानीय भाषा तथा भाषिकामा एआई अनुसन्धान र प्रविधि विकास गर्नेछन्। स्पीच टेक्नोलोजी, अनुवाद, डकुमेन्ट डिजिटाइजेसन, शैक्षिक सामग्री स्थानीयकरण, बहुभाषिक सार्वजनिक सूचना प्रणाली तथा मूल्याङ्कन डेटासेट विकास सम्भावित प्राथमिकताका क्षेत्र हुनेछन्।

    भाषा तथा डेटासेटसँग सम्बन्धित सम्पूर्ण कार्य सहमति, बौद्धिक सम्पत्ति संरक्षण, गोपनीयता, डेटा गभर्नेन्स तथा जिम्मेवार एआईका सिद्धान्तअनुसार सञ्चालन गरिने जनाइएको छ।

    साझेदारीमार्फत एआई ह्याकाथन, इनोभेसन ल्याब, स्टार्टअप कोहोर्ट, विश्वविद्यालय नवप्रवर्तन कार्यक्रम तथा भारत–नेपाल स्टार्टअप एक्सचेन्जमार्फत अनुसन्धानकर्ता, विकासकर्ता तथा प्रविधि उद्यमीहरूको सञ्जाल सुदृढ पार्ने लक्ष्य पनि राखिएको छ।

    यस्तै बैंकिङ, वित्तीय सेवा, बीमा, दूरसञ्चार, उत्पादन, शिक्षा, स्वास्थ्य, मिडिया तथा अन्य व्यावसायिक क्षेत्रका लागि कार्यकारी एआई तयारी कार्यक्रम र क्षेत्रविशेष समाधान विकास गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    उल्लेखनीय रूपमा, भारत सरकारको इन्डिया एआई मिसन अन्तर्गत सोभरेन लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) विकासका लागि सर्वम छनोट भएको कम्पनी हो। कम्पनीले जुन २०२६ मा ३० करोड अमेरिकी डलरको सिरिज–बी लगानी चरणको पहिलो क्लोजिङमार्फत १.५ अर्ब अमेरिकी डलर पोस्ट–मनी मूल्यांकनमा २३ करोड ४० लाख अमेरिकी डलर लगानी जुटाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend