काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले आफ्नो एआई प्लेटफर्म स्प्रिङबेस एआईमा नयाँ बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रविधिले प्रयोगकर्ताले बोलेका विचारलाई प्राकृतिक संवादमार्फत अनुसन्धान, योजना, वेबसाइट, मोबाइल एप, प्रतिवेदन तथा अन्य डिजिटल सामग्रीमा रूपान्तरण गर्न सक्षम बनाउनेछ।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार नयाँ सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक रहेको दाबी गरिएको छ। सामान्य प्रश्न–उत्तरमा सीमित नरही यसले प्रयोगकर्ताको उद्देश्य बुझेर चरणबद्ध रूपमा आवश्यक कार्य सम्पन्न गर्ने क्षमता राख्छ। १५० भन्दा बढी भाषाको समर्थन गर्ने यस प्रविधिले प्रयोगकर्तालाई आफ्नै मातृभाषामा एआईसँग संवाद गर्दै अनुसन्धान, योजना निर्माण, सामग्री विकास तथा डिजिटल उत्पादन तयार गर्न सहज बनाउने कम्पनीको विश्वास छ।
प्रयोगकर्ताले आफूले तयार गर्न चाहेको विषय बोलेर व्यक्त गरेपछि स्प्रिङबेस एआईले त्यसको विश्लेषण गरी प्रयोगयोग्य नतिजामा रूपान्तरण गर्ने कम्पनीको भनाइ छ। यसले जटिल मौखिक निर्देशनलाई अन्तरक्रियात्मक प्रस्तुतीकरण, तस्बिर, अनुसन्धान प्रतिवेदन, कार्यशील वेबसाइट, एप्लिकेसन, स्वचालित कार्यप्रवाह तथा अन्य डिजिटल सामग्रीमा रूपान्तरण गर्न सक्ने जनाएको छ।
स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले यो सुविधा संवाद गर्ने एआईभन्दा अगाडि बढेर प्रयोगकर्ताको विचारलाई प्रत्यक्ष कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले विकास गरिएको बताए।
उनले भने, “हाम्रो प्लेटफर्मले प्रत्येक निर्णयको आधार र प्रक्रिया स्पष्ट रूपमा प्रस्तुत गर्ने भएकाले प्रयोगकर्ताले एआईले कसरी काम गरिरहेको छ भन्ने बुझ्न सक्छन्। अब जुनसुकै व्यक्तिले आफ्नो मातृभाषामै आफूले चाहेको कुरा वर्णन गरेर उन्नत डिजिटल समाधान सिर्जना गर्न सक्छ।”
उनका अनुसार नयाँ सुविधाले योजना निर्माण, अनुसन्धान, नयाँ अवधारणाको विकास तथा परियोजनालाई निरन्तर परिमार्जन गर्दै अगाडि बढाउन प्रयोगकर्तालाई थप सहज बनाउनेछ।
कम्पनीले नयाँ सुविधाको प्रदर्शन गरिएको छोटो भिडियो आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको जनाएको छ। सञ्चारमाध्यमका लागि आवश्यक स्क्रिनसट तथा अन्य सामग्री प्रेस किटमार्फत उपलब्ध गराइएको पनि कम्पनीले उल्लेख गरेको छ।
स्प्रिङबेस एआईको बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा आजैदेखि विश्वभर उपलब्ध भएको कम्पनीले जनाएको छ। प्लेटफर्ममा यसअघि उपलब्ध एआई कार्यप्रवाह, प्रतिवेदन निर्माण, बैठक रेकर्डिङ, ट्रान्सक्रिप्सनलगायतका उत्पादकत्वसम्बन्धी सेवाहरू पनि यथावत रहनेछन्। यी सेवाहरू प्रोफेसनल तथा संस्थागत प्रयोगकर्ताका लागि करसहित प्रतिमहिना रु १,४९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै प्रयोगकर्ताले आफ्ना डाटामाथि पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै प्लेटफर्ममार्फत सिधै दर्ता गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

