काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या ८ मा सीमित गर्दै मन्त्रिपरिषद्को कार्यविभाजन गरेको छ। प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा मन्त्रीहरूको कार्यविभाजन स्वीकृत गरेका हुन्।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैंसँग राखेका छन्।
मन्त्रालयको संख्या आठ कायम गरिएसँगै कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ।
कार्यविभाजनअनुसार:
- मधुसूदन पौडेल – कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
- शिवराज अधिकारी – आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय
- कञ्चनचन्द्र वादे – स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
- डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
- प्रभात तामाङ – आर्थिक मामिला तथा योजना मन्त्रालय
- कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
- विन्दु श्रेष्ठ – उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय
यस्तै, किरण थापामगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विनु रायमाझी पौडेललाई भने विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

