२०८३, श्रावण २५ गते

images

‘सगरमाथामै सीमित हुन सक्दैनौँ, अब नयाँ हिमाली गन्तव्य विकासमा जोड दिन्छौँ’, पर्यटन विभागका निर्देशक हिमाल गौतमसँगको अन्तर्वार्ता

‘सगरमाथामै सीमित हुन सक्दैनौँ, अब नयाँ हिमाली गन्तव्य विकासमा जोड दिन्छौँ’, पर्यटन विभागका निर्देशक हिमाल गौतमसँगको अन्तर्वार्ता

images
आइतवार, श्रावण ३ २०८३१२:३९
आइतवार, श्रावण ३ २०८३१२:३९
  • काठमाडौँ । हिमाल, प्रकृति र संस्कृति—यी तीनै कुराको अनुपम संगम हो नेपाल । तर, केवल प्रकृतिले दिएको उपहारमा रमाएर मात्र पुग्दैन, त्यसलाई विश्वबजारमा उचित ब्रान्डिङ गर्ने र आवश्यक पूर्वाधार तयार गर्ने काम झनै महत्त्वपूर्ण हुन्छ । पछिल्लो समय सुदूरपश्चिम र कर्णालीका हिमाललाई ‘रोयल्टी फ्री’ गर्नेदेखि लिएर होटलहरूको वर्गीकरणमा नयाँ मापदण्ड लागू गर्नेसम्मका कामहरू पर्यटन विभागमार्फत भइरहेका छन् ।

    एकातिर हिमालमा बढ्दो चाप र अर्कोतिर जलवायु परिवर्तनको असरका बीच नेपाली पर्यटनलाई कसरी सन्तुलित र दिगो बनाउने भन्ने बहस पनि उत्तिकै पेचिलो छ । यिनै समसामयिक विषय र विभागको आगामी योजनामा केन्द्रित रहेर पर्यटन विभागका निर्देशक हिमाल गौतमसँग सीएनएन खबरले कुराकानी गरेको छ । प्रस्तुत छ पर्यटन विभागका निर्देशक हिमाल गौतमसँग गरिएको संवादको सारसंक्षेपः

    पर्यटन विभागले हाल प्राथमिकतामा राखेका मुख्य काम र योजनाहरू के–के हुन् ?

    पर्यटन विभागले हाल तीनवटा मुख्य स्तम्भमा काम गरिरहेको छ । पहिलो— पर्वतारोहण तथा साहसिक पर्यटन; दोस्रो— होटल र हस्पिटालिटी क्षेत्र व्यवस्थापन; र तेस्रो— पर्यटकीय पूर्वाधारहरूको निर्माण तथा विस्तार । यी तीनै क्षेत्रको समन्वयात्मक विकासबाट समग्र पर्यटन क्षेत्रको उत्थान गर्ने ध्येयका साथ पर्यटन विभाग अगाडि बढेको छ । यसै सन्दर्भमा नेपाल सरकारको दीर्घकालीन योजना, आवधिक बजेट, सरकारको नीति तथा कार्यक्रमको परिधिभित्र रहेर विभिन्न योजना र कार्यक्रमहरू कार्यान्वयन गर्दै पर्यटन प्रवद्र्धन गर्ने दिशामा विभाग केन्द्रित छ ।

    जस्तै, साहसिक पर्यटनको क्षेत्रमा हेर्ने हो भने, जुन पूर्वाधारहरू विश्वमा ठूलो धनराशि खर्च गरेर निर्माण गर्नुपर्ने हुन्छ, त्यस्ता पूर्वाधारहरू हामीसँग प्राकृतिक रूपमै उपलब्ध छन् । प्रकृतिले दिएका संरचनामा थोरै लगानी गरेर ठूला ‘एडभेन्चर टुरिजम’ का संरचना बनाउन सकिने सम्भावना छ । यसमा ¥याफ्टिङ, बन्जी, स्विङ लगायत धेरै साहसिक गतिविधिहरूलाई समेट्न सकिन्छ । नेपालमा करिब २ हजार हिमालहरू आरोहणका लागि सम्भाव्य रहेको विभिन्न अध्ययनले देखाएका छन् । तिनीहरूको खोज गर्ने, नामाकरण गर्ने, सम्भाव्यता अध्ययन गरेर औपचारिक रूपमा आरोहण खुला भएको घोषणा गर्ने र ती हिमालको प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो । जसले गर्दा पर्वतारोहणको विविधीकरण हुन्छ ।

    अहिले पर्वतारोहणको मुख्य केन्द्र खुम्बु क्षेत्रलाई मानिन्छ । सगरमाथा, ल्होत्से, आमादब्लम जस्ता प्रमुख हिमालहरू खुम्बु क्षेत्रमै भएका कारण त्यहाँ चाप बढी छ । हाम्रो उद्देश्य सबै प्रदेशले पर्वतारोहणबाट लाभ लिन सकून् र अन्य क्षेत्रका पर्यटकीय सम्भावनाहरू पनि उजागर होऊन् भन्ने हो । भर्खरै नेपाल सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ९७ वटा हिमाललाई दुई आर्थिक वर्षका लागि रोयल्टीमुक्त गरेको छ । सरकारले दुई वर्षसम्म निःशुल्क गर्नुको मुख्य ध्येय कर्णाली तथा सुदूरपश्चिमलाई आर्थिक एवं मानव विकास सूचकाङ्कमा अगाडि बढाउनु हो । ती क्षेत्रका हिमाल आरोहणमा छुट दिँदा पर्वतारोहीहरू आकर्षित हुने र त्यहाँको अर्थतन्त्र चलायमान हुने अपेक्षा छ । यसबाट ‘सुन्दर सुदूर’ र कर्णालीका पर्यटकीय गन्तव्यको अन्वेषण समेत हुनेछ ।

    यस्तै, होटल तथा हस्पिटालिटी क्षेत्रमार्फत ग्लोबल पर्यटकलाई आतिथ्यमा आकर्षित गर्नु पनि हाम्रो प्राथमिकता हो । यसलाई विश्वस्तरीय गुणस्तरको बनाउन हामीसँग २०७६ सालमा बनेको ‘होटल वर्गीकरण मापदण्ड’ छ । त्यसलाई पछिल्लो समयका नवीन मान्यता र अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार स्टार होटल तथा रिसोर्टमा नेपाली मौलिकताको संरक्षण हुने गरी परिमार्जन गर्दैछौँ । हाम्रो ‘ग्रिन हस्पिटालिटी’ र ‘इको–फ्रेन्डली’ अवधारणालाई जोडेर उक्त मापदण्डको पुनरावलोकन हुँदैछ । नेपाल आउने पर्यटकको चाहना अनुसार के–कस्ता नयाँ आयाम र सम्भावनाहरू हुनसक्छन् भन्नेबारे हामी अध्ययन गरिरहेका छौँ ।

    अर्को क्षेत्र पर्यटकीय पूर्वाधार हो । हाम्रा पर्यटकीय गन्तव्यहरूको सौन्दर्यीकरण गर्ने, तिनीहरूको महत्व उजागर गर्ने, पहुँचमार्ग विस्तार गर्ने र आवश्यक भौतिक संरचना निर्माण गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ । चालु आर्थिक वर्षमा पर्यटकीय पूर्वाधारमा करिब २५० करोड रुपैयाँ बजेट खर्च गरेका छौँ । यद्यपि, केही योजनाहरू प्राविधिक कारणले यसै वर्ष सम्पन्न हुन सक्ने अवस्थामा छैनन् । आन्दोलन र निर्वाचनका कारण केही योजनाको काम अझै सुचारु हुन सकेको छैन । तत्कालीन सरकारको निर्देशनमा रोकिएका ती आयोजनाहरू अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन् । हामीले ‘ग्रेट हिमालयन ट्रेल’, हिलस्टेशन निर्माण, पर्यटकीय पदमार्ग, र सांस्कृतिक–धार्मिक महत्वका क्षेत्रसम्म पुग्ने सहायक सडक तथा सौन्दर्यीकरणका क्षेत्रमा काम गरिरहेका छौँ ।

    सरकारले खुला गरेका ४६२ हिमालको व्यवस्थापन र अनुगमन अहिले कत्तिको प्रभावकारी रूपमा भइरहेको छ ?

    ४६२ वटा हिमाल आरोहणका लागि खुला भइसकेका छन्, जसमध्ये करिब १ सय हिमाल अझै पनि ‘भर्जिन’ हिमालका रूपमा रहेका छन् । अहिलेसम्म ती हिमालमा मानव पाइला पर्न सकेको छैन । ४६२ हिमाल खुला गरिए तापनि आरोहीहरूको आकर्षण समान छैन ।

    पर्वतारोहणका लागि आवश्यक पूर्वाधार सुनिश्चित गर्न र प्रवद्र्धनमार्फत आरोहीहरूलाई आकर्षण गर्न थप मिहिनेत गर्नुपर्ने देखिएको छ । सरकारले सुदूर र कर्णालीका ९७ हिमाल आरोहणमा दिएको रोयल्टी छुटले अहिले केही आकर्षण बढेको छ । हामी नियामक निकाय हौँ, तर हामीले अनुमतिसँगै सहजीकरणमा बढी जोड दिएका छौँ । हिमालमा सरकारको उपस्थिति, व्यवस्थापन र क्षमतामा जुन किसिमको प्रभावकारिता हुनुपर्ने थियो, त्यो नभएको स्विकार्नुपर्छ । हामीले अनुगमनको जिम्मा सरोकारवाला निकायहरूलाई दिएका छौँ । नेपाल माउन्टेन एकेडेमी (जुन अहिले नाथममा गाभिएको छ), नेपाल पर्वतारोहण संघ, र एक्सपिडिसन अपरेटिङ एसोसिएसन जस्ता निजी तथा गैरसरकारी सरोकारवालासँगको समन्वयमा हामीले हिमालको प्रवद्र्धन, विकास, अनुसन्धान र अनुगमनमा सहकार्य गरिरहेका छौँ ।

    पछिल्लो समय हिमाल आरोहणमा बढ्दो भीडलाई विभागले कसरी व्यवस्थापन गरिरहेको छ ? जलवायु परिवर्तनले हिमाली पर्यटनमा पारेको प्रभावबारे विभागले कसरी अध्ययन गरिरहेको छ ?

    हिमालमा आरोहीको चापलाई म ‘भीड’ मात्र मान्दिनँ । हाम्रो प्रचलित कानुनले हिमालमा आरोहीको संख्या वा सीमा निर्धारण गरेको छैन । हामीले आरोहीको मागका आधारमा तोकिएको शुल्क लिएर र सर्त पूरा गराएर आरोहण अनुमति दिने गरेका छौँ । केही समयअघि सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ, जसले हामीलाई नयाँ दिशानिर्देश गरेको छ ।

    सगरमाथाको हकमा यसको ‘भारवहन क्षमता’ मूल्यांकन गरेर आरोहीको संख्या निर्धारण गर्ने बाटो खुलेको छ । फोहोरमैला व्यवस्थापनमा प्रभावकारिता ल्याउन सबै तहका निकायलाई जिम्मेवार बनाउने भनिएको छ । हाम्रा हिमालहरू जलवायु परिवर्तनको चपेटामा परेका छन् र हामी यसको सबैभन्दा बढी पीडित हौँ । यसलाई न्यूनीकरण गर्न ‘ग्लोबल क्लाइमेट फन्ड’हरूमा हाम्रो उपस्थिति बढाएर नयाँ प्रोजेक्टहरू भित्र्याउने योजना छ ।

    यस सिजनमा ५२ वटा समूहका ४९५ जनाले सगरमाथा आरोहण अनुमति लिए, जसबाट १ अर्ब ७ करोड रुपैयाँ रोयल्टी संकलन भयो । यही संख्याका कारण भीड भएको भनिएको हो । हिमाल आरोहण आफैँमा चुनौतीपूर्ण छ । हिउँको संसारमा डोरीको सहारामा हिँड्नुपर्ने हुँदा अप्ठ्यारो बाटोमा लाइन लाग्नु स्वाभाविक हो । सगरमाथा लगायतका हिमालमा अनुकूल मौसमको प्रतीक्षा गर्नुपर्ने र जाने–फर्कने बाटो एउटै हुने भएकाले केही ढिलाइ र चाप देखिन्छ । तर, भीडकै कारण दुर्घटना बढेको वा व्यवस्थापनमा असर परेको अनुभव विभागले गरेको छैन ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सफा हिमाल कार्ययोजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यसले विभिन्न निकायको जिम्मेवारी र दायित्व निर्धारण गर्दै उनीहरूलाई जवाफदेही बनाएको छ । यसबाट हिमाल सफाइमा थप प्रभावकारिता आउने हाम्रो अपेक्षा छ । जलवायु परिवर्तनमा विभागको प्रत्यक्ष भूमिका नभए पनि हाम्रा हिमालहरू यसको जोखिममा रहेकाले अन्तर्राष्ट्रिय कोषहरूमा हाम्रो सक्रियता बढाउनु आवश्यक छ ।

    हिमाल आरोहण क्षेत्रमा विदेशी कम्पनीको प्रभाव बढिरहेको चर्चा छ । नेपाली कम्पनीलाई प्रतिस्पर्धी बनाउन विभागको रणनीति के छ ?

    आरोहणमा विदेशी कम्पनीको प्रत्यक्ष प्रभाव छैन । सरकारले विदेशी लगानी प्रोत्साहन गरे पनि पर्वतीय पर्यटनमा नेपाली कम्पनीकै वर्चस्व छ । विदेशी आरोहीहरूले आफ्ना देशका कम्पनीसँग समन्वय गरेर आए पनि नेपालमा उनीहरूलाई हाम्रा स्वदेशी ट्रेकिङ कम्पनीहरूले नै सेवा प्रदान गर्छन् । पर्यटक भित्र्याउन उनीहरूको भूमिका महत्वपूर्ण छ र विदेशी कम्पनीका कारण नेपालमा कुनै नकारात्मक असर परेको जानकारी विभागमा छैन ।

    हिमाल आरोहणको अनुमतिदेखि प्रमाणीकरण (सर्टिफिकेसन) सम्मको काममा नेपाली कम्पनीकै प्रत्यक्ष संलग्नता रहन्छ । हाम्रो पर्यटन ऐन र पर्वतारोहण नियमावलीले पर्वतीय पदप्रदर्शक, सरदार र उचाइमा जाने सहयोगीहरू नेपाली नागरिक मात्र हुन पाउने व्यवस्था गरेको छ । त्यसैले, व्यवस्थापकीय भूमिका हाम्रा नेपाली कम्पनी र जनशक्तिमै सुरक्षित छ ।

    होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सेवाको गुणस्तर सुधारका लागि विभागले के–कस्ता मापदण्ड लागू गरेको छ ?

    हस्पिटालिटी क्षेत्रलाई विश्वस्तरीय बनाउन हामी लागिपरेका छौँ । युरोप वा अमेरिकाको ‘फाइभ स्टार’ होटलमा बस्ने पर्यटकले नेपालमा पनि त्यस्तै गुणस्तरको अपेक्षा गर्छ । त्यो गुणस्तर कायम गर्दै त्यसमा नेपाली संस्कृति र मौलिकता झल्कियोस् भन्ने हाम्रो चाहना हो । २०७६ सालको मापदण्डले भौतिक संरचनालाई बढी जोड दिएको थियो । अब हामी सेवाको गुणस्तर र अतिथिको सन्तुष्टिलाई केन्द्रमा राखेर मापदण्ड परिमार्जन गर्दैछौँ ।

    सरकारले घोषणा गर्ने ‘नयाँ पर्यटन गन्तव्य’हरूको वास्तविक प्रवद्र्धन र पूर्वाधार विकासमा विभागको भूमिका कस्तो छ ?
    विभागले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्छ । बजेट प्रस्ताव गर्दा नै हामीले पर्यटकीय सम्भावना भएका पूर्वाधारलाई प्राथमिकता दिन्छौँ । नयाँ गन्तव्यहरूको दिगो व्यवस्थापन र विकासमा विभागको महत्वपूर्ण भूमिका रहन्छ ।

    नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ प्रभावकारी रूपमा ब्रान्डिङ गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

    यसमा विभागको मात्र नभई सबैको भूमिका बराबर हुन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवद्र्धन गर्ने मुख्य जिम्मेवारी नेपाल पर्यटन बोर्डको हो । विभाग एक सेवा प्रदायक संस्था हो । बोर्डले निजी क्षेत्रसँग मिलेर नयाँ सम्भावनाहरूको अध्ययन र प्रवद्र्धनात्मक काम गर्नुपर्छ ।

    विदेशमा रहेका हाम्रा दूतावास, गैरआवासीय नेपाली (एनआरएन) र विश्वभर फैलिएका शुभचिन्तकहरूले नेपाली कला–संस्कृतिको प्रचार गरेर पर्यटनमा ठूलो योगदान दिन सक्छन् । हामी आफ्नै ‘कस्तूरी’ (आफ्नो विशेषता) नचिनेर पछाडि परेका छौँ । अब हामीले हाम्रा सानातिना कमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्छ ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend