काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाद्धार मुद्दा दायर गरेको छ । आयोगले बुधबार कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपछ । नापी किताबमा वास्तविक कामभन्दा बढी देखाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाको ‘बेल्केढुङ्गा–लेखनवाडा–वडा कार्यालय–दुर्सी फागोटी सडक निर्माण’ योजनामा उपभोक्ता समितिका पदाधिकारीसमेतको मिलेमतोमा आठ लाख आठ हजार ६८० रुपैयाँ बढी भुक्तानी दिएको आरोपपत्रमा उल्लेख छ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनी प्रसाद प्याकुरेल, सवइन्जिनियर विनोद कुमार बम र सवइन्जिनियर नन्दबहादुर सिंह, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं ९ का वडाध्यक्ष टक्कबहादुर बम तथा उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बमलाई प्रतिवादी बनाइएको छ।

