काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको जनाएको छ। कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्दै ग्राहकप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ।
कम्पनीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा व्यवसाय विस्तार, सेवा सञ्जाल सुदृढीकरण तथा ग्राहक पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल भएको छ। त्यससँगै दाबी भुक्तानी क्षमतामा समेत वृद्धि भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार समयमै दाबी भुक्तानी, प्रभावकारी सेवा प्रवाह र ग्राहकमैत्री कार्यशैलीका कारण बीमितको विश्वास थप मजबुत बन्दै गएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीप्रति विश्वास व्यक्त गर्ने ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
उनले सबै पक्षको विश्वास र सहयोगले कम्पनीलाई निरन्तर अघि बढ्न प्रेरणा मिलेको उल्लेख गर्दै आगामी दिनमा अझ छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक केन्द्रित सेवामार्फत सेवा गुणस्तरलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानलाई प्राथमिकतामा राख्दै ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने तथा नेपालको निर्जीवन बीमा क्षेत्रको दिगो विकासमा योगदानलाई अझ सशक्त बनाउने जनाएको छ।
नेपालका अग्रणी निर्जीवन बीमा कम्पनीमध्ये एक सलिकाेले पछिल्ला वर्षहरूमा व्यवसाय विस्तारसँगै सेवा गुणस्तर सुधार र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ।

