२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • एचसीसीएनको डिनमा सुरज वैद्य निर्विरोध, विदेशी...

एचसीसीएनको डिनमा सुरज वैद्य निर्विरोध, विदेशी लगानी र आर्थिक कूटनीतिलाई नयाँ गति दिने प्रतिबद्धता

एचसीसीएनको डिनमा सुरज वैद्य निर्विरोध, विदेशी लगानी र आर्थिक कूटनीतिलाई नयाँ गति दिने प्रतिबद्धता

शुक्रवार, श्रावण ८ २०८३०७:२१
शुक्रवार, श्रावण ८ २०८३०७:२१
  • images

    काठमाडौँ। प्रतिष्ठित उद्योगी तथा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डिन पदमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका वैद्यलाई काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो।

    यसअघि बुल्गेरियाका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत भोला थापा डिनको जिम्मेवारीमा थिए। सोही साधारणसभाले पासाङ दावा शेर्पालाई एचसीसीएनको भाइस डिन मा पनि चयन गरेको छ।

    नवनिर्वाचित डिन वैद्यले आफ्नो कार्यकालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउने कार्यलाई प्रमुख प्राथमिकता दिने बताएका छन्। नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न आफू सक्रिय रहने उनको प्रतिबद्धता छ।

    वैद्यले एचसीसीएनमार्फत हाल विश्वका ६४ भन्दा बढी मुलुक प्रतिनिधित्व भइरहेको उल्लेख गर्दै ती राष्ट्रहरूसँग नेपालको आर्थिक, व्यापारिक, पर्यटन तथा लगानी साझेदारी विस्तार गर्ने अवसर रहेको बताए। उनका अनुसार यस्ता मुलुकसँगको सम्बन्धलाई थप मजबुत बनाउन सके नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।

    उनले अवैतनिक वाणिज्यदूतहरूको भूमिका सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नरही निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुका रूपमा रहेको उल्लेख गरे। आगामी दिनमा नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग समन्वय गर्दै गुणस्तरीय विदेशी लगानी भित्र्याउने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार र बजार पहुँच विस्तार गर्ने तथा सांस्कृतिक आदान–प्रदानलाई थप सशक्त बनाउने लक्ष्य रहेको उनले बताए।

    नेपालको दीगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै वैद्यले एचसीसीएनको अन्तर्राष्ट्रिय सञ्जाल, अनुभव र सद्भावलाई नेपालको दीर्घकालीन विकास तथा विश्वव्यापी आकांक्षा पूरा गर्न उपयोग गरिने विश्वास व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा विश्वास गरी जिम्मेवारी प्रदान गरेकोमा सदस्यहरूप्रति आभार व्यक्त गर्दै निवर्तमान डिन तथा पूर्व नेतृत्वप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend