काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिव (पीएस) को नियुक्ति तथा व्यवस्थापनलाई पारदर्शी, मितव्ययी र जवाफदेही बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनमा स्वकीय सचिव नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने, नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने, आर्थिक पारदर्शिता सुनिश्चित गर्ने तथा कार्यसम्पादनको नियमित मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ।
रास्वपाले सरकारले सांसदलाई उपलब्ध गराएको स्वकीय सचिवको सुविधा जनताको करबाट सञ्चालन हुने भएकाले त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न यस्तो कार्यविधि लागू गरिएको जनाएको छ।
नातावाद र परिवारवादमा पूर्ण रोक
निर्देशनअनुसार सांसदले आफ्नो परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा दक्षता, अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप र नैतिक आचरणलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, महिला, सीमान्तकृत समुदाय तथा पछाडि परेका वर्गका योग्य उम्मेदवारलाई प्राथमिकता दिने नीति पनि रास्वपाले लिएको छ।
खुला प्रतिस्पर्धाबाट मात्र नियुक्ति
रास्वपाले स्वकीय सचिव छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सांसदले छनोट गरेका उम्मेदवारलाई अन्तिम नियुक्ति दिनुअघि पार्टीको संसदीय दलबाट स्वीकृति लिनुपर्नेछ। यससम्बन्धी कुनै विवाद, उजुरी वा प्रश्न उठेमा अन्तिम निर्णय गर्ने अधिकार पार्टीमै रहने उल्लेख गरिएको छ।
दोहोरो सुविधा लिन नपाइने
निर्देशनले नियुक्त हुने स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गर्न वा दोहोरो आर्थिक सुविधा लिन नपाउने व्यवस्था गरेको छ। सांसदको पदीय जिम्मेवारीमा प्रभाव पार्ने कुनै पनि स्वार्थ बाझिने अवस्था (Conflict of Interest) स्वीकार्य नहुने स्पष्ट गरिएको छ।
पारिश्रमिकमा आर्थिक अनुशासन
रास्वपाले स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कटौती गर्न, असुल गर्न वा आर्थिक हिनामिना गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तो कार्यलाई गम्भीर आर्थिक अनुशासनहीनता मानिने उल्लेख गर्दै पारिश्रमिक सीधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने निर्देशन दिएको छ।
कार्यसम्पादन मूल्याङ्कन र गोपनीयता
निर्देशनअनुसार सांसदले आफ्ना स्वकीय सचिवको नियमित कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्नेछ। मूल्याङ्कनसम्बन्धी आवधिक प्रतिवेदन संसदीय दलसमक्ष अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
साथै, स्वकीय सचिवले सांसदको कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संवेदनशील विषयको पूर्ण गोपनीयता कायम राख्नुपर्ने उल्लेख छ।
आचारसंहिता उल्लंघन गरे पदमुक्त
रास्वपाले पदीय आचरण विपरीत कार्य गरेको, गोपनीयता भंग गरेको वा कार्यसम्पादन सन्तोषजनक नभएको अवस्थामा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराएर स्वकीय सचिवलाई पदमुक्त गर्न सक्ने व्यवस्था पनि गरेको छ।
यससँगै पार्टीले स्वकीय सचिव मागका लागि सार्वजनिक आह्वान गर्दा सबै सांसदले एउटै आधिकारिक विज्ञापन ढाँचा प्रयोग गर्नुपर्ने व्यवस्था समेत लागू गरेको जनाएको छ।
रास्वपाले यो निर्देशिकाले स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरेको छ।

