काठमाडौँ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनमा रहेका डा. गोविन्द केसीसँग सरकारले आज (आइतबार)देखि औपचारिक वार्ता सुरु गर्ने भएको छ। यसअघि शनिबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले धनगढी पुगेर डा. केसीसँग प्रारम्भिक छलफल गरेका थिए।
सचिव पौडेलले शनिबार साँझ डा. केसी र उनका सहयोगीसँग भेट गरी उहाँका माग तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव धनगढी पुगेपछि औपचारिक वार्ता अघि बढाइनेछ।
पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षबीच संवाद सकारात्मक रहेको र आइतबार नै सहमति जुट्ने अपेक्षा गरिएको बताएका छन्।
हाल डा. केसी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित पाँच बुँदे माग राख्दै तीन दिनदेखि आमरण अनसन जारी राखेका छन्।
यता, धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन बसेको विषयलाई लिएर स्थानीय तहमा विरोध पनि देखिएको छ। केही स्थानीयले डा. केसीको अनसनको विरोध गर्दै ‘गो ब्याक गोविन्द केसी’ भन्ने नाराबाजी गरेका छन्। उनीहरूले सुदूरपश्चिममा गरिएको अनसनले प्रदेशको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रलाई नकारात्मक असर पार्ने दाबी गरेका छन्।
सरकार र डा. केसीबीच हुने औपचारिक वार्ताबाट अनसन अन्त्य हुने गरी सहमति जुट्छ वा जुट्दैन भन्ने विषयमा चासो बढेको छ।

