काठमाडौँ । नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार डट कम’ आगामी साउन १३ गते (बुधबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। चीनका उत्पादकबाट वस्तु सिधै खरिद गरी आफ्नै आपूर्ति तथा वितरण प्रणालीमार्फत नेपाली उपभोक्तासम्म पुर्याउने अवधारणासहित कम्पनीले सेवा सुरु गर्न लागेको हो।
कम्पनीका अनुसार नेपालमा आयातित अधिकांश वस्तु आयातकर्ता, थोक विक्रेता, वितरकलगायतका बहु–तहका आपूर्ति शृंखलाबाट उपभोक्तासम्म पुग्ने भएकाले वस्तुको मूल्य बढ्ने र आपूर्तिमा अनिश्चितता रहने समस्या छ। यही अवस्थालाई परिवर्तन गर्दै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच स्थापित गर्ने उद्देश्यले चाइनाबजार सञ्चालनमा ल्याइएको हो।
चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार कम्पनीले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नरही चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु छनोट तथा खरिद गर्नेछ। त्यसपछि आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल ल्याई कम्पनीकै गोदाममा भण्डारण गरी आफ्नै वितरण प्रणालीबाट ग्राहकसम्म पुर्याइनेछ।
उनका अनुसार स्रोत व्यवस्थापन, आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन गरिने भएकाले डेलिभरी समय छोटिने, लागत नियन्त्रण हुने तथा उपभोक्ताले पारदर्शी र प्रतिस्पर्धी मूल्यमा सामान प्राप्त गर्ने अपेक्षा गरिएको छ। बजारमा आपूर्ति प्रणालीमा उतारचढाव आए पनि आफ्नै व्यवस्थापनका कारण सेवा स्थिर र भरपर्दो रहने कम्पनीको दाबी छ।
‘इन्जोय योर सपिङ’ नारासहित सञ्चालनमा आउन लागेको प्लेटफर्मले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउने जनाएको छ। कम्पनीले आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै थप श्रेणीका सामग्री समावेश गर्ने योजना पनि सार्वजनिक गरेको छ।
ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। साथै, आफ्नै गोदाम र वितरण प्रणालीमार्फत आवश्यक मौज्दात कायम राखी छिटो तथा भरपर्दो डेलिभरी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।
सीईओ श्रेष्ठले नेपालमा डिजिटल अर्थतन्त्र तीव्र रूपमा विस्तार भइरहेको र चीनसँगको व्यापारिक सम्बन्ध पनि निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्दै चाइनाबजारले यही अवसरलाई उपयोग गर्दै अघि बढ्ने लक्ष्य लिएको बताइन्। उनका अनुसार आगामी दिनमा उत्पादनको विविधता बढाउनुका साथै देशभर वितरण सञ्जाल विस्तार गर्ने योजना रहेको छ।
साउन १३ गतेदेखि उपभोक्ताले www.chynabazar.com मार्फत चाइनाबजारको सेवा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रत्यक्ष स्रोत व्यवस्थापन, आयात, भण्डारण र वितरणलाई एकीकृत गर्ने व्यवसायिक मोडलमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

