सडक विभागका अनुसार सुरुङमार्गको उद्घाटन सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइका (JICA) का अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। उद्घाटनपछि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
एक महिनापछि मात्रै सर्वसाधारणका लागि पूर्ण सञ्चालन
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार उद्घाटनपछि सुरुङभित्र आगलागी, दुर्घटना तथा अन्य सम्भावित विपद्को व्यवस्थापन क्षमता परीक्षण गर्न 'मक ड्रिल' सञ्चालन गरिनेछ। त्यसपछि करिब एक सातासम्म एकतर्फी परीक्षण सञ्चालन गरिनेछ।
यस अवधिमा जेट फ्यान, हावाको प्रवाह, सुरक्षा उपकरण तथा अन्य प्रविधिको परीक्षण सम्पन्न भएपछि करिब एक महिनाभित्र सर्वसाधारणका लागि सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ।
२७ अर्ब ५० करोडको लगानी
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ २ हजार ६८८ मिटर र आपत्कालीन सुरुङ २ हजार ५५७ मिटर लामो छ।
परियोजनामा जापान सरकारले करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गरेको छ। यससँगै कुल परियोजना लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
निर्माण कार्य २०७६ कात्तिक ४ गते सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध र प्राविधिक चुनौतीका कारण आयोजना ढिलाइ भएको थियो।
पाँच वर्ष निजी कम्पनीले सञ्चालन गर्ने
सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभी ले पाएको छ। चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रमले आगामी पाँच वर्षसम्म सुरुङको सञ्चालन, मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, उद्धार सेवा, टोल संकलन तथा पहुँच सडकको नियमित रेखदेख गर्नेछ।
सुरुङ चौबीसै घण्टा सञ्चालन गर्न १५० कर्मचारी विभिन्न सिफ्टमा परिचालन गरिनेछन्। सबै कर्मचारीलाई सुरक्षासम्बन्धी विशेष तालिम दिइसकिएको आयोजनाले जनाएको छ।
पूर्ण रूपमा डिजिटल टोल प्रणाली
सुरुङमार्गमा डिजिटल टोल प्रणाली लागू हुनेछ। एन–ट्याग र आरएफआईडी प्रविधिमार्फत बैंक खाताबाट स्वचालित रूपमा शुल्क कट्ने व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा क्यूआर कोड र फोन–पे मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
दैनिक संकलित सम्पूर्ण टोल रकम सडक बोर्ड नेपाल को खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
यस्तो छ टोल शुल्क
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि टोल शुल्क निर्धारण गरिसकेको छ।
- कार तथा भ्यान : काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ
- मिनीबस, ट्रक र टिपर : प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
- ठूला बस तथा ट्रक : प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ
- हेभी ट्रक तथा लरी : प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ
यी सवारीलाई प्रवेश निषेध
सुरुङमार्ग सञ्चालन निर्देशिका, २०८१ अनुसार पैदलयात्री, साइकल, मोटरसाइकल, तीनपांग्रे तथा अन्य गैर–मोटरयुक्त सवारीसाधन लाई सुरुङ प्रयोग गर्न अनुमति हुनेछैन।
यस्तै डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधन लाई पनि सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। यस्ता सवारीले पुरानै नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्नुपर्नेछ।
महानिर्देशक जैसीका अनुसार प्राविधिक चुनौती पार गर्दै सम्पन्न भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा नयाँ उपलब्धि भएको उल्लेख गर्दै यसले भविष्यमा यस्ता आधुनिक सुरुङमार्ग निर्माण गर्न सक्ने आत्मविश्वास थपेको बताएका छन्।

