काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय सुधार भएको जनाएको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ५५ करोड १ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि १० प्रतिशतले वृद्धि भई ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा ४४.४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख रुपैयाँ रहेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता २०.८५ प्रतिशत रहेको देखिएको छ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले असार मसान्तसम्म २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ। साथै, प्रतिसेयर आम्दानी (EPS) २५.७५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८८.४२ रुपैयाँ कायम रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

