२०८३, आश्विन १९ गते

images

नारायणी, सप्तकोशी बैंक र रिलायन्स फाइनान्स राष्ट्र बैंकको कारबाहीमा, यस्तो छ कारण

नारायणी, सप्तकोशी बैंक र रिलायन्स फाइनान्स राष्ट्र बैंकको कारबाहीमा, यस्तो छ कारण

सोमवार, श्रावण ११ २०८३०१:२२
सोमवार, श्रावण ११ २०८३०१:२२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि दुई विकास बैंक र एक फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्समाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको हो।

    राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हट्दा पालना गर्नुपर्ने सर्त उल्लंघन गरेको पाइएको छ। एउटै ग्राहक, फर्म वा समूहलाई प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था आर्थिक वर्ष २०८१/८२ मा उल्लंघन भएको निष्कर्षपछि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई भविष्यमा यस्ता कमजोरी नदोहोर्याउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सचेत गराइएको छ।

    त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको स्थलगत निरीक्षणका क्रममा भल्टमा रहेको नगद अपचलन भएको, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच पुगेको तथा आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी रहेको भेटिएको राष्ट्र बैंकले जनाएको छ। घटनाको प्रभावकारी छानबिन नगरेको, दोषीमाथि आवश्यक कारबाही अघि नबढाएको र सुधारका लागि आवश्यक नीति तथा कार्यविधि अद्यावधिक नगरेकाले बैंकलाई पनि कानुनबमोजिम चेतावनी दिइएको छ।

    यस्तै रिलायन्स फाइनान्सले २०८२ फागुन १० देखि २०८३ वैशाख ५ गतेसम्म अनिवार्य मौज्दात (CRR) कायम नगरेको पाइएपछि राष्ट्र बैंकले संस्थालाई २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिबाना गरेको छ।

    राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई नियामकीय मापदण्डको पूर्ण पालना गर्न, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन र यस्ता कमजोरी दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend