काठमाडौं । सानीमा क्यापिटल्समा कार्यरत ४५ वर्षीया रश्मी रिजाल आफ्नै विद्युतीय कारभित्र मृत अवस्थामा फेला परेकी छन्। गत शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी रिजाल शनिबार काठमाडौं महानगरपालिका–तारकेश्वर नगरपालिका–१ बालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रको पार्किङ क्षेत्रमा रोकिएको कारभित्र मृत भेटिएकी हुन्।
प्रहरीका अनुसार बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा उनको शव जलेको अवस्थामा फेला परेको थियो। कारमा ठूलो क्षति नदेखिएको र शव पनि पूर्ण रूपमा जलेको अवस्थामा नरहेकाले घटनाप्रति सुरुदेखि नै परिवारले शंका व्यक्त गरेका थिए।
नुवाकोटको बेलकोटगढी नगरपालिका–तादी स्थायी घर भई काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएकी रिजाल शुक्रबार घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। घर नफर्किएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।
यसैबीच तारकेश्वरस्थित बालुवा प्रशोधन केन्द्र नजिक लामो समयदेखि शंकास्पद रूपमा रोकिएको गाडीबारे प्रहरीलाई सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरीले उक्त गाडी परिवारले खोजी गरिरहेको कार रहेको पुष्टि गरेको थियो। कालो सिसा भएका कारण सुरुमा गाडीभित्र केही नदेखिए पनि ढोका खोलेपछि पछाडिको सिटमा रिजाल मृत अवस्थामा फेला परेकी थिइन्। गाडीको चाबी भने अगाडिको भागमै रहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले आसपासका सीसीटीभी फुटेज संकलन गरेको थियो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार फुटेजमा रिजाल आफैं कार चलाएर घटनास्थल पुगेको, गाडी पार्क गरेपछि चालक सिटबाट पछाडिको सिटमा सरेको र त्यसपछि गाडीका सबै सिसा बन्द गरेको देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार त्यसपछि उनले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको देखिन्छ। गाडीका सबै सिसा बन्द भएका कारण आगो बाहिर फैलिन नसकेको र त्यसैले गाडीमा ठूलो क्षति नपुगेको प्रहरीको भनाइ छ। शरीरमा लागेको जलन र अक्सिजनको अभावका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।
आइतबार पोस्टमार्टम सम्पन्न भएपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको छ। यसैबीच परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी कसैको संलग्नता देखिए कानुनी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

