काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार भण्डारीमाथि सरकारको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हकबाट बाहिर राख्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
स्मार्ट टेलिकमले दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाखमा आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो। तर, अनुमतिपत्र नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो।
लाइसेन्स खारेज भएसँगै कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल कानुनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने व्यवस्था रहेको छ।
सरकारले लाइसेन्स रद्द भएपछि स्मार्ट टेलिकमको व्यवस्थापनका लागि विशेष नियमावली बनाएर प्राधिकरणमार्फत कम्पनीलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो।
यसअघि पनि यही प्रकरणमा सीआईबीले गत वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
सीआईबीले स्मार्ट टेलिकम प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।

