२०८३, श्रावण २५ गते

images

राष्ट्र बैंकको कारवाहीमा ३ वाणिज्य बैंक, प्रभु बैंकका पूर्व सीईओलाई ५ लाख रुपैयाँ जरिवाना

राष्ट्र बैंकको कारवाहीमा ३ वाणिज्य बैंक, प्रभु बैंकका पूर्व सीईओलाई ५ लाख रुपैयाँ जरिवाना

images
आइतवार, श्रावण १७ २०८३११:१४
आइतवार, श्रावण १७ २०८३११:१४
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंकिङ नियम उल्लङ्घन गरेको भन्दै तीन वाणिज्य बैंक र एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कारबाही गरेको छ।

    राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न निर्देशन तथा नियामकीय व्यवस्था पालना नगरेको भन्दै चेतावनी तथा सुधारात्मक निर्देशन दिइएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी राष्ट्र बैंकको निर्देशन पालना नगरेकाले भविष्यमा त्यस्ता त्रुटि नदोहोर्‍याउन चेतावनी दिइएको राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, कृषि विकास बैंकले पनि खाता रोक्का सम्बन्धी कानुनी व्यवस्था र राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा कमजोरी देखाएकाले सचेत गराइएको छ।

    प्रभु बैंकका हकमा भने निरीक्षणका क्रममा औँल्याइएका कमजोरी समयमै सुधार नगरेको भन्दै सञ्चालक समितिलाई सुधारात्मक योजना लागू गर्न निर्देशन दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

    यसैबीच, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै पाँच लाख रुपैयाँ नगद जरिवाना गरिएको छ। राष्ट्र बैंकका अनुसार कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्थालगायतका नियामकीय प्रावधान पालना नगरेको तथा राष्ट्र बैंकमा पेश गरिएको विवरणमा त्रुटि भेटिएपछि उनीमाथि कारबाही गरिएको हो।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नियामकीय व्यवस्था कडाइका साथ पालना गर्नुपर्ने भन्दै आगामी दिनमा यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत दिएको छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend