काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २,६६३.०० विन्दुमा कायम भएको हो।
अघिल्लो कारोबार दिन १.२० अंकले घटेको बजारले मंगलबार पनि दिनभर ओरालो यात्रा कायम राख्यो। कारोबार अवधिभर नेप्से परिसूचक रातोमै रहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।
कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ।
आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत परिसूचकमा गिरावट आएको छ। व्यापार, अन्य तथा उत्पादन तथा प्रशोधन समूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
उपसमूहतर्फ बैंकिङ ०.८० प्रतिशत, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ तथा व्यापार समूह १.१९ प्रतिशतले घटेका छन्।
गिर्दो बजारबीच पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। एभरेस्ट कलरको सेयर मूल्य लगातार बढ्दै मंगलबार पनि १५ प्रतिशतले उकालो लागेर प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ पुगेको छ। त्यस्तै खानीखोला हाइड्रोपावर १०.०७ प्रतिशत, जोशी हाइड्रोपावर ५.२६ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ४.४४ प्रतिशत र महिला लघुवित्त ४.०२ प्रतिशतले बढेका छन्।
यता सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ११.६७ प्रतिशतले घटेको छ। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक ३.९९ प्रतिशत र सामुदायिक लघुवित्त ३.४९ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा मंगलबार खानीखोला हाइड्रोपावर, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर अग्रस्थानमा रहेका छन्।

