काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी र तीन लघु जीवन बीमा कम्पनीले विभिन्न प्रकारका जीवन बीमालेखमार्फत कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सावधिक जीवन बीमा सबैभन्दा लोकप्रिय बनेको छ। यस शीर्षकअन्तर्गत मात्रै ८२ अर्ब ६२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
प्राधिकरणका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ३७ अर्ब ६७ करोड २१ लाख रुपैयाँ, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ३३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ तथा रुपान्तरित सावधिक जीवन बीमाबाट २३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यसैगरी, एकल बीमाशुल्क जीवन बीमाबाट ९ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ४ अर्ब २७ करोड ३२ लाख रुपैयाँ र अन्य जीवन बीमाबाट ३ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ संकलन भएको तथ्यांकमा उल्लेख छ।
यस्तै, लघु जीवन बीमाबाट ३ अर्ब ५४ करोड १९ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ तथा म्यादि जीवन बीमाबाट १ अर्ब ८० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
प्रदेशगत विवरणअनुसार बागमती प्रदेश जीवन बीमा बजारको प्रमुख केन्द्रका रूपमा देखिएको छ। बागमतीबाट मात्रै ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशबाट ३३ अर्ब २२ करोड रुपैयाँ, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ, मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ तथा कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

