काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा खुद नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।
गत असार मसान्तसम्म बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २४ करोड ११ लाख रुपैयाँको तुलनामा २५२.९६ प्रतिशत बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा पनि १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धि हुनुमा कर्जा असुलीमा आएको सुधार मुख्य कारण बनेको देखिएको छ। यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट घटेर १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको बैंकले जनाएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधार हुँदै ६ रुपैयाँ ६५ पैसाबाट २३ रुपैयाँ ४८ पैसा पुगेको छ।
नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफासमेत समावेश गर्दा बैंकको कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस आधारमा प्रतिसेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो।
गत असारसम्म बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषसहित कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारतर्फ बैंकले ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म एनपीएल ६.९४ प्रतिशत पुगेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो ४.७१ प्रतिशत रहेको थियो।

