काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहको नियुक्ति स्वीकृत भएको बताएका छन्।
साह यसअघि नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो, जसअन्तर्गत साह उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए।
अन्तिम प्रतिस्पर्धामा प्यूठानका कौशल केसी र सप्तरीका संजीवकुमार देव पनि रहेका थिए। अनुभव, कार्यसम्पादन र योग्यताको मूल्याङ्कनका आधारमा मन्त्रिपरिषद्ले साहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त कार्यकारी निर्देशक साहको नेतृत्वमा निगमले सरकारको प्राथमिकतामा रहेको ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थको रणनीतिक भण्डारण क्षमता विकास गर्ने योजना कार्यान्वयन गर्नुपर्ने प्रमुख जिम्मेवारी रहनेछ। साथै, इन्धन आपूर्तिलाई थप सुरक्षित, सहज र दीर्घकालीन रूपमा व्यवस्थापन गर्नु उनको नेतृत्वको महत्वपूर्ण चुनौतीका रूपमा रहनेछ।

