काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीले मार्क्सवादको झण्डालाई नेपालबाट उठाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले भण्डारीले कम्युनिष्ट आन्दोलन असफल भयो भनेर भनिएको बेला नेपालबाट आन्दोलनको झण्डा उठाएको बताएका हुन्् । ‘संसारभरिको कम्युनिष्ट आन्दोलनलाई प्रेरणा दिएर मार्क्सवाद–लेनिनवादको झण्डालाई माथि उठाउने महान् व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो’, उनले भने ।
गुरुङले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद जनताको जनवादकै स्वरूप भएको बताए । धेरै कम्युनिष्टहरुले जनताको जनवाद एकदलीय हुन्छ भन्ने सिद्धान्त जस्तो मानेर गरेका शासन सञ्चालन असफल भएका उनको भनाई छ । त्यस्तो बेला जनताको जनवादी व्यवस्था अब बहुदलीय प्रतिस्पर्धामा चल्छ भनेर मार्क्सवाद सिर्जनात्मक प्रयोगका काम नेपालमा मदन भण्डारीले गरेको उनले स्पष्ट पारे ।
मदन भण्डारीकै कारण नेपालको र विश्वको कम्युनिष्ट आन्दोलन अहिले उचाइमा उठेको उनले बताए । बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिष्टहरु सत्तामा पुगेर जनताको सेवा गर्न सक्दछन् भन्ने कुरा जनताको बहुदलीय जनवादले स्थापित गरेको उनले बताए ।
संसद् र सडकको सङ्घर्ष जोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिन्छ भनेर मदन भण्डारीले भनेको कुरा आज पुष्टि भएको उनले बताए ।

