काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै आयोजना गरेको चारदिने ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ सम्पन्न गरेको छ।
गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा ‘Raising the Bar, Redefining Success’ नाराका साथ आयोजित सम्मेलनमा कम्पनीको आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता विकासलगायतका विषयमा व्यापक छलफल र प्रशिक्षण गरिएको थियो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न सम्मेलनको औपचारिक उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले बदलिँदो बजारअनुसार कर्मचारीले आफूलाई तयार गर्नुपर्नेमा जोड दिइन्।
उनले कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताइन्।
अध्यक्ष सिंहले विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग जीवन बीमा क्षेत्रमा महत्वपूर्ण बन्न सक्ने भन्दै कर्मचारीलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताइन्। डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउँदै नयाँ प्रविधिको सदुपयोगमार्फत व्यवसाय विस्तारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले कर्मचारीको अधिकतम प्रयास, आपसी समन्वय र संस्थागत प्रतिबद्धताबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास व्यक्त गरिन्।
‘नयाँ आर्थिक वर्ष नयाँ सोच र संकल्पको सुरुवात’
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य दिँदै नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी नयाँ यात्रा, नयाँ संकल्प र नयाँ अवसरका साथ अघि बढिरहेको बताए।
उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको उल्लेख गरे।
सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।
सम्पत्ति शुद्धीकरणबारे कर्मचारीलाई प्रशिक्षण
सम्मेलनमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए।
जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष चनाखो र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
एआईबाट बीमा व्यवसाय र डिजिटल मार्केटिङमा जोड
कर्मचारीलाई प्रविधिको क्षेत्रमा सक्षम बनाउने उद्देश्यले एआईसम्बन्धी विशेष प्रशिक्षणसमेत दिइएको थियो।
प्रशिक्षक विश्वराज पौडेलले एआईका विभिन्न टुल्स तथा तिनको व्यावसायिक प्रयोगबारे प्रशिक्षण दिँदै एआईको प्रयोगमार्फत बीमा व्यवसायलाई डिजिटल माध्यमबाट कसरी प्रभावकारी रूपमा मार्केटिङ गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराए।
त्यस्तै, प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार तथा व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रशिक्षण दिएका थिए। उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे व्यावहारिक उदाहरणसहित प्रशिक्षण प्रदान गरे।
उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
सम्मेलनको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट प्रदर्शन गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी अधिकतम प्रथम बीमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन तथा अधिकतम बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन–तीन शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ।
चेयरपर्सन क्लब योजना तथा सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक उत्कृष्ट शाखा कार्यालयलाई पनि कम्पनीका अध्यक्ष सिंहले सम्मान तथा पुरस्कार प्रदान गरिन्।
खेलकुद र मनोरञ्जनमा पनि कर्मचारीको सहभागिता
सम्मेलनलाई प्रशिक्षण र व्यावसायिक छलफलमा मात्र सीमित नराखी कर्मचारीबीचको आपसी सम्बन्ध तथा संस्थागत समन्वय थप मजबुत बनाउने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
महिला तथा पुरुष कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो। विभिन्न खेल विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गरेका थिए।
कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्न सहयोग गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

