काठमाडौँ । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुगेको हो।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८९ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा बढ्नुमा मुख्यतः खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थापनबापतको रकममा आएको कमीले योगदान गरेको देखिन्छ।
ब्याज आम्दानीमा सुधार
बैंकको खुद ब्याज आम्दानी सामान्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा वर्षमा बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। यो करिब १.३० प्रतिशतको वृद्धि हो।
त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि बढेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको १ अर्ब २१ करोड ६१ लाख रुपैयाँबाट बढेर १ अर्ब ३० करोड २७ लाख रुपैयाँ पुगेको छ। यसमा ७.१२ प्रतिशतको वृद्धि देखिएको छ।
बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कर्मचारी तथा अन्य सञ्चालन खर्च बढे पनि ब्याज र कमिसनलगायत मुख्य व्यवसायबाट हुने आम्दानीमा देखिएको सुधारले समग्र नाफा बढाउन सहयोग गरेको हो।
खर्च बढ्दा पनि नाफा उकालो
बैंकको आम्दानीसँगै सञ्चालन खर्चमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कर्मचारी खर्च १०.१६ प्रतिशतले बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि ४.१० प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
यद्यपि खर्च बढेको अवस्थामा पनि बैंकको मुख्य आम्दानीका स्रोत मजबुत रहँदा त्यसको प्रत्यक्ष दबाब नाफामा परेको देखिँदैन।
निक्षेप र कर्जामा वृद्धि
बैंकले व्यवसाय विस्तारलाई पनि निरन्तरता दिएको छ। समीक्षा अवधिमा बैंकको कुल निक्षेप ६.६२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ७१.१६ प्रतिशत रहेको छ।
यसले बैंकसँग आगामी दिनमा थप कर्जा विस्तारका लागि पर्याप्त ठाउँ रहेको संकेत गर्छ।
खराब कर्जा घट्यो
नेपाल एसबिआई बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर समीक्षा अवधिमा २.९२ प्रतिशत मा झरेको छ।
निष्क्रिय कर्जा घटे पनि बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि करिब १ अर्ब रुपैयाँ छुट्याएको छ। यससँगै निष्क्रिय कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्था अनुपात १४५.७४ प्रतिशत पुगेको छ।
घट्यो कोषको लागत र आधार दर
बैंकको कोषको लागत पनि घटेको छ। अघिल्लो वर्ष ५.१८ प्रतिशत रहेको कोषको लागत समीक्षा अवधिमा ४.०६ प्रतिशत मा झरेको छ।
त्यस्तै, बैंकको आधार दर ६.२९ प्रतिशतबाट घटेर ५.२१ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर (स्प्रेड) पनि ३.५२ प्रतिशतबाट घटेर ३.२१ प्रतिशत मा आएको छ।
लाभांश क्षमता ११.०४ प्रतिशत
बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ९८ पैसा रहेको ईपीएस बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २१.७७ गुणा तथा पूँजी कोष अनुपात १३.७४ प्रतिशत रहेको छ।

