२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा,...

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, स्वागतका लागि यस्ताे छ देउवा पक्षको तयारी

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, स्वागतका लागि यस्ताे छ देउवा पक्षको तयारी

बिहिवार, श्रावण २८ २०८३०७:१८
बिहिवार, श्रावण २८ २०८३०७:१८
  • images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किँदै छन्। देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित बिहीबार दिउँसो थाइल्यान्डबाट काठमाडौँ फर्किन लागेका हुन्।

    कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनको स्वागतका लागि देउवा पक्षले विशेष तयारी गरेको छ।

    यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने तयारीमा थिए। तर रातिको समयमा स्वागत व्यवस्थापनमा कठिनाइ हुनसक्ने भन्दै उनको आगमन दुई दिनपछि दिउँसोका लागि सारिएको बताइएको छ।

    देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि भारत भ्रमणमा रहेकी उनकी पत्नी आरजु राणा पनि उपचारकै सिलसिलामा सिंगापुर पुगेकी थिइन्। दुवै जना सिंगापुरबाट थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइए पनि त्यसपछि उनीहरू कहाँ बसे भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिइएको थिएन।

    यसअघि नेपालमा उपचार गराएपछि थप उपचारका लागि सिंगापुर गएका देउवा उपचारपछि नेपाल फर्किएका थिए। फलोअप उपचारका लागि भन्दै उनी पुनः गत फागुनमा सिंगापुर गएका हुन्।

    यसबीच देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरिएको भए पनि त्यसलाई रोक्न माग गर्दै वारेशमार्फत दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।

    देउवा लामो समय विदेशमा रहेका बेला कांग्रेसभित्र भने आन्तरिक असन्तुष्टि र विवाद चुलिएको छ। यही अवस्थामा उनको स्वदेश फिर्तीलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।

    देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ।

    सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा उद्घाटन हुने राष्ट्रिय भेलामा करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ। राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा देउवा स्वदेश फर्किन लागेकाले कांग्रेसको आन्तरिक राजनीति थप सक्रिय हुने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend