काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ। केन्द्रीय बैंकले साउन २७ गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको हो।
बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। सोही क्रममा आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्नेछन्। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
निक्षेप संकलन उपकरणका लागि आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिनेछ। निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्नुपर्नेछ।
बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले यसपटक ३५ दिने निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो। यस उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ ३१ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा कर्जाको माग तुलनात्मक रूपमा कमजोर रहँदा निक्षेप बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलनलगायत मौद्रिक उपकरणमार्फत प्रणालीबाट अतिरिक्त तरलता खिच्दै आएको छ।

