२०८३, भाद्र ४ गते

images
  • समाचार
  • प्रशासकिय अधिकृत सहित ९ जना विरुद्ध...

प्रशासकिय अधिकृत सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रशासकिय अधिकृत सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

images
बिहिवार, श्रावण २८ २०८३०४:३१
बिहिवार, श्रावण २८ २०८३०४:३१
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ कायम गरी बिगो तथा सोहीअनुसारको सजाय मागदाबी गरेको छ।

    अख्तियारका अनुसार धरान उपमहानगरपालिका–१४ दुधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा कायम रहेको साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ र ४ को गरी १० कठ्ठा ५ धुर जग्गा मिलेमतोमा नक्कली कागजात तयार गरी व्यक्तिको नाममा नामसारी गरिएको थियो।

    आयोगले गरेको अनुसन्धानबाट तत्कालीन धरान नगरपालिकाका प्रशासनिक अधिकृत गणेशप्रसाद खप्तिवडा, तत्कालीन सिनसिंगा गाविसका अध्यक्षरसचिव कपिलमणि दाहाल, तत्कालीन मालपोत कार्यालय सुनसरीका मालपोत अधिकृत सुशील वैध, शाखा अधिकृत टुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, तत्कालीन धरान–१४ का वडा सचिव उत्तम आले, मन्दिरका पुजारी वटुला चौधरी र स्थानीय जग्गा कारोबारमा संलग्न पंकज घिमिरे लगायतलाई प्रतिवादी बनाइएको छ।

    नक्कली कागजात बनाएर जग्गा नामसारी

    अनुसन्धानका क्रममा साविक सिनसिंगा गाविस र धरान नगरपालिका–१४ बाट झुट्टा विवरणसहितको सर्जमिन मुचुल्का तयार गरिएको तथा त्यससँग मिल्ने गरी नाता प्रमाणित प्रमाणपत्रसमेत बनाइएको अख्तियारको दाबी छ।

    त्यसपछि धरान नगरपालिकाले मालपोत कार्यालय सुनसरीलाई उक्त जग्गा मन्दिरका तत्कालीन पुजारी वटुला चौधरीको नाममा नामसारी गर्न सिफारिस गरेको र मालपोत कार्यालयले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरेको आयोगले जनाएको छ। यसरी मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता कायम गरिएको अख्तियारको निष्कर्ष छ।

    ३६ लाख १० हजार रुपैयाँ बिगो

    आयोगले उक्त सार्वजनिक जग्गाको आर्थिक वर्ष २०८२र८३ को न्यूनतम मूल्यांकनअनुसार ३६ लाख १० हजार रुपैयाँ कायम गरेको छ। जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्रीसमेत गरिएको देखिएको भन्दै संलग्न कर्मचारी तथा अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार सजायको मागदाबी गरिएको छ।

    तत्कालीन धरान नगरपालिकाका प्रशासनिक अधिकृत गणेशप्रसाद खप्तिवडाविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी बिगो असुलउपरसहित कैद र जरिवानाको मागदाबी गरिएको छ। तत्कालीन सिनसिंगा गाविसका अध्यक्षरसचिव कपिलमणि दाहालविरुद्ध पनि सोही बिगो कायम गरी सजाय माग गरिएको छ। दाहालले कागजात मिलाइदिएबापत वटुला चौधरीबाट ५ हजार रुपैयाँ घुस लिएको समेत अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

    मालपोतका तीन कर्मचारी पनि प्रतिवादी

    मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैध, शाखा अधिकृत टुङ्गनाथ भण्डारी र नायब सुब्बा केदारबहादुर कार्कीलाई पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ।

    त्यस्तै, तत्कालीन धरान–१४ का वडा सचिव उत्तम आलेविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा (९९२) बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

    पुजारी र जग्गा कारोबारीलाई पनि प्रतिवादी

    अख्तियारले मन्दिरका तत्कालीन पुजारी वटुला चौधरीलाई सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा गैरकानुनी लाभ प्राप्त गर्ने मतियारको रूपमा आरोपित गरेको छ। चौधरीले कपिलमणि दाहाललाई कागजात तयार गरिदिएबापत ५ हजार रुपैयाँ दिएको समेत आयोगको अनुसन्धानबाट खुलेको दाबी छ।

    स्थानीय जग्गा कारोबारमा संलग्न पंकज घिमिरेलाई पनि मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यबाट नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा आरोप लगाइएको छ। उनीविरुद्ध पनि ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend