२०८३, आश्विन १९ गते

images

प्रभु बैंकमा खराब कर्जाको धक्का: एनपीएल १५.५५ प्रतिशत, लाभांशमा ब्रेक

प्रभु बैंकमा खराब कर्जाको धक्का: एनपीएल १५.५५ प्रतिशत, लाभांशमा ब्रेक

शुक्रवार, श्रावण २९ २०८३०७:४०
शुक्रवार, श्रावण २९ २०८३०७:४०
  • images

    काठमाडौँ । प्रभु बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक यसपटक घाटामा गएको हो।

    बैंकको नाफामा गिरावट आउनुको प्रमुख कारण कर्जाको गुणस्तरमा आएको गिरावट र त्यसका लागि बढेको इम्पेरमेन्ट चार्ज देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ। अर्थात् एक वर्षको अवधिमा बैंकको खराब कर्जा अनुपात दोब्बरभन्दा बढी भएको छ।

    बैंकले खराब कर्जा तथा अन्य कर्जा जोखिम व्यवस्थापनका लागि ४९ करोड ४४ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्याएको छ। गत आर्थिक वर्षमा यस्तो रकम २४ करोड २ लाख रुपैयाँ थियो। इम्पेरमेन्ट चार्ज करिब दोब्बर भएपछि बैंकको सञ्चालन आम्दानीमा दबाब परेको हो।

    बैंकको सञ्चालन नाफा पनि घटेको छ। गत आर्थिक वर्षको १८ करोड ६० लाख रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा सञ्चालन नाफा १५ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। यो करिब १४ प्रतिशतको गिरावट हो।

    यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेख्य सुधार आएको छ। गत आर्थिक वर्षको ७१ करोड ९८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ। बैंकले २८.७४ प्रतिशतको वृद्धि हासिल गरेको हो।

    बैंकको ग्राहक निक्षेप पनि बढेको छ। चौथो त्रैमाससम्ममा बैंकसँग ३ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ ग्राहक निक्षेप रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ थियो।

    यता, ग्राहकलाई प्रवाह गरेको कर्जा भने घटेको छ। बैंकको ग्राहक कर्जा तथा सापटी २ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँबाट घटेर २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ।

    बैंकको कोषको लागतमा भने उल्लेख्य सुधार आएको छ। कोषको लागत ४.३६ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झरेको छ। त्यस्तै, कर्जा-निक्षेप अनुपात ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशतमा आएको छ।

    बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ रहेको छ। रिजर्भ तथा सञ्चित कोषमा भने केही परिवर्तन देखिएको छ। बैंकको सञ्चित मुनाफा ६३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक भएको छ। गत आर्थिक वर्षमा ३ रुपैयाँ ७१ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षमा १ रुपैयाँ २ पैसा ऋणात्मक अर्थात् -१.०२ रुपैयाँ भएको छ।

    बैंकको पुँजी पर्याप्तता अनुपात पनि घटेको छ। गत आर्थिक वर्ष १२.५० प्रतिशत रहेको क्यापिटल फन्ड टु रिस्क वेटेड एसेट्स अनुपात चालु आर्थिक वर्षमा ११.८३ प्रतिशतमा झरेको छ। टियर-१ तथा सीईटी–१ पुँजी अनुपातसमेत ८.८३ प्रतिशतबाट ८.१७ प्रतिशतमा घटेको छ।

    बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक छ। नियामकीय समायोजनपछि बैंकको वितरणका लागि उपलब्ध नाफा करिब ३ अर्ब ७४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ। यसले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा बैंक नरहेको देखाउँछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend