२०८३, आश्विन १९ गते

images

हिमालयन बैंकको नाफामा १ हजार ४१ प्रतिशतको छलाङ, १२ करोडबाट बढेर १ अर्ब ४८ करोड

हिमालयन बैंकको नाफामा १ हजार ४१ प्रतिशतको छलाङ, १२ करोडबाट बढेर १ अर्ब ४८ करोड

शुक्रवार, श्रावण २९ २०८३०७:५१
शुक्रवार, श्रावण २९ २०८३०७:५१
  • images

    हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको १२ करोड ९७ लाख रुपैयाँको तुलनामा १ हजार ४१.१६ प्रतिशतले बढेको हो।
    बैंकको वित्तीय विवरणअनुसार एक वर्षमै खुद नाफामा करिब ११ गुणाको वृद्धि भएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँमा सीमित थियो।

    नाफामा आएको ठूलो सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। ईपीएस गत वर्षको ६० पैसाबाट बढेर ६ रुपैयाँ ५६ पैसा पुगेको छ।

    बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी करिब १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ थियो।

    बैंकको कुल निक्षेप ३ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकसँग ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप रहेको थियो। निक्षेपमा करिब २ प्रतिशत वृद्धि भएको छ।

    यता, ग्राहकतर्फको कर्जा तथा सापटी भने २ खर्ब ७७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो कर्जा २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ थियो। यस आधारमा बैंकको कर्जा विस्तार करिब २० प्रतिशत रहेको छ।

    हिमालयन बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने ७.९७ प्रतिशतबाट सामान्य घटेर ७.९६ प्रतिशतमा आएको छ। खराब कर्जाको अनुपात उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार भएको हो।

    बैंकको कोषको लागत ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा आएको छ। कर्जा–निक्षेप अनुपात पनि ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा झरेको छ।

    बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ भने ७८ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको रिजर्भ तथा अन्य कोषसमेत वित्तीय विवरणमा उल्लेख गरिएको छ।

    पुँजी पर्याप्तता अनुपाततर्फ बैंकको क्यापिटल फन्ड टु रिस्क वेटेड एसेट्स अनुपात ११.६९ प्रतिशत रहेको छ। टियर–१ क्यापिटल अनुपात ८.१९ प्रतिशत र सीईटी–१ क्यापिटल अनुपात ८.१९ प्रतिशत रहेको छ।

    बैंकको वितरणयोग्य नाफा भने अझै ऋणात्मक रहेको छ। नियामकीय समायोजनपछि चौथो त्रैमाससम्म वितरणयोग्य नाफा ९८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। त्यसैले खुद नाफा उल्लेख्य बढे पनि तत्काल लाभांश वितरण गर्ने अवस्था वित्तीय विवरणले देखाउँदैन।

    हिमालयन बैंकको वित्तीय विवरणले चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानीमा वृद्धि, कर्जा विस्तार, कोषको लागतमा कमी तथा अघिल्लो वर्षको कमजोर आधारका कारण खुद नाफामा असाधारण वृद्धि भएको देखाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend