काठमाडौँ । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । शुक्रबार सेलवेजले पोखराको विरौटा र प्रस्याङमा एकै पटक दुई शाखा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय सेलवेज शाखा विस्तारमा आक्रामक देखिन थालेको छ । शुक्रबार दुई स्थानमा शाखा विस्तार भएसँगै पोखरामा मात्रै सेलवेजका १० वटा शाखा पुगेका छन् ।
सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ । कम्पनीका व्यवस्थापक दयाल गिरीका अनुसार सेलवेज र सेल्सबेरी ब्राण्ड गरी हाल ४० शाखा मार्फत सेवा प्रवाह हुँदै आएको छ ।
पोखराबाट सुरुवात भएको सेलवेज कम्पनीको व्यवसायीक यात्रा हाल देशका विभिन्न स्थानमा फैलिएका छन् ।
सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकाली, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । अबको केही महिनाभित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।
पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । पोखरामा सेलवेज स्थापना गरेर सन् २००४ मा काठमाडौँमा सेवा प्रवाह गर्न प्रवेश गरेको कम्पनीले सन् २०१४ देखि सेल्सबेरी ब्राण्ड मार्फत समेत सेवा दिदैँ आएको छ ।

