काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज साउन २९ गते बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो। राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने जनाएको छ।
यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। बोलकबोल आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।
निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार ३५ दिने अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी असोज २ गते भुक्तानी गरिनेछ।

