२०८३, आश्विन १९ गते

images

लक्ष्मी सनराइज बैंकको नाफा २३ प्रतिशत घट्यो, निष्क्रिय कर्जा ५.२३ प्रतिशत पुग्यो

लक्ष्मी सनराइज बैंकको नाफा २३ प्रतिशत घट्यो, निष्क्रिय कर्जा ५.२३ प्रतिशत पुग्यो

आइतवार, श्रावण ३१ २०८३१०:११
आइतवार, श्रावण ३१ २०८३१०:११
  • images

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२६ प्रतिशतले कम हो।

    आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पछिल्लो वर्ष बैंकको आम्दानीका केही प्रमुख सूचकमा सुधार भए पनि सञ्चालन नाफामा आएको कमीका कारण समग्र नाफा घटेको देखिन्छ।

    बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १० अर्ब ८५ करोड १९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा बढेर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ। यस्तो आम्दानी २ अर्ब १८ करोड ८६ लाख रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    तर, बैंकको सञ्चालन नाफा भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आवमा ६ अर्ब ३ करोड ४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा गत आवमा घटेर ४ अर्ब ७० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ। यसअनुसार बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता प्रतिसेयर ६.७९ रुपैयाँ रहेको छ।

    २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८० करोड ८० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकले ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    बैंकको प्रतिसेयर आम्दानी (EPS) ११.६४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ पुगेको छ।

    यता, बैंकको निष्क्रिय कर्जा (NPL) भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ५.२३ प्रतिशत पुगेको छ। यसले बैंकको सम्पत्तिको गुणस्तर र कर्जा व्यवस्थापनमा थप दबाब देखिएको संकेत गर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend