२०८३, भाद्र ४ गते

images
  • अर्थतन्त्र
  • बैंकमा पैसा थुप्रिँदा घट्यो निक्षेपको ब्याजदरः...

बैंकमा पैसा थुप्रिँदा घट्यो निक्षेपको ब्याजदरः नबिल र प्रभुको ब्याज सबैभन्दा धेरै, १५ बैंकको यथावत्

बैंकमा पैसा थुप्रिँदा घट्यो निक्षेपको ब्याजदरः नबिल र प्रभुको ब्याज सबैभन्दा धेरै, १५ बैंकको यथावत्

images
आइतवार, श्रावण ३१ २०८३१०:२१
आइतवार, श्रावण ३१ २०८३१०:२१
  • काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई भदौ महिनामा पनि निरन्तरता दिएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार भदौमा निक्षेपको औसत ब्याजदर थप घटेको छ।

    भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम भएको छ। यो साउनको ४.१६७५ प्रतिशतको तुलनामा ०.०३१५ प्रतिशतविन्दुले कम हो।

    त्यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि घटेको छ। साउनमा ३.११६ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर भदौमा घटेर ३.०८१ प्रतिशत कायम भएको छ।

    पाँच बैंकले घटाए ब्याजदर

    भदौका लागि पाँच वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा धेरै ०.२९ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ पनि ०.२ प्रतिशतविन्दुले घटाउँदै ३.०५ प्रतिशत कायम गरिएको छ।

    नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने ०.५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत मा झारेको छ।

    त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम गरेका छन्।

    नबिल र प्रभुको ब्याजदर सबैभन्दा माथि

    भदौमा व्यक्तिगत निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

    अर्कोतर्फ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकसहित १५ वाणिज्य बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।

    तरलता थुप्रिँदा निक्षेपको लागत घटाउने रणनीति

    बैंकिङ प्रणालीमा पर्याप्त रकम भए पनि त्यसअनुसार कर्जाको माग बढ्न नसक्दा बैंकहरू निक्षेपको लागत घटाउने रणनीतिमा देखिएका छन्। निक्षेपमा तिर्नुपर्ने ब्याजदर घटाएर बैंकहरूले आफ्नो लागत कम गर्ने प्रयास गरिरहेका छन्।

    विशेषगरी प्रणालीमा तरलता अधिक हुनु र कर्जा विस्तार सुस्त रहनु पछिल्लो समय बैंकहरूको ब्याजदर घटाउने प्रमुख कारण बनेको छ। कर्जाको मागमा सुधार नआएसम्म निक्षेपको ब्याजदरमा थप दबाब कायम रहने संकेतसमेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend