काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ। बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको क्षति तथा पछिल्लो समयको जेनजी आन्दोलनसँग जोडिएका क्षतिको दाबी व्यवस्थापन र रिकभरीमा देखिएको दबाबले कम्पनीहरूको मुनाफामा असर परेको देखिएको छ।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूको कुल खुद नाफा ३९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले कुल ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
सार्वजनिक वित्तीय विवरणअनुसार प्रभु इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरूको नाफा घटेको देखिएको छ। बीमा दाबी भुक्तानी, क्षति व्यवस्थापन तथा विभिन्न जोखिमका कारण कम्पनीहरूको नाफामा दबाब परेको हो।
प्रभु इन्स्योरेन्सको नाफा भने बढ्यो
समग्र क्षेत्रमा नाफा घटिरहेका बेला प्रभु इन्स्योरेन्सले भने सुधार गरेको छ। कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढेर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
राष्ट्रिय बीमा कम्पनी र सलिकोको नाफा घट्यो
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा पनि घटेको छ। कम्पनीको नाफा १९.४५ प्रतिशतले कमी आई ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा झरेको छ।
त्यस्तै, सलिकोको नाफामा पनि उल्लेख्य गिरावट देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.७४ प्रतिशत कम हो।
नेशनल इन्स्योरेन्स घाटामा
यसैबीच नेशनल इन्स्योरेन्स भने गत आर्थिक वर्षमा नोक्सानीमा गएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ घाटा व्यहोरेको छ।
यसरी निर्जीवन बीमा क्षेत्रमा एकातर्फ प्राकृतिक विपत्तिसहित विभिन्न घटनाबाट सिर्जित दाबीको दबाब देखिएको छ भने अर्कोतर्फ केही कम्पनीको नाफा घट्दा समग्र क्षेत्रकै वित्तीय प्रदर्शन कमजोर बनेको देखिन्छ।

