२०८३, आश्विन १९ गते

images
  • बिमा
  • हिमालयन लाइफको नाफा ३१ करोडमा सीमित,...

हिमालयन लाइफको नाफा ३१ करोडमा सीमित, बीमा कोष ८९ अर्ब ४१ करोड

हिमालयन लाइफको नाफा ३१ करोडमा सीमित, बीमा कोष ८९ अर्ब ४१ करोड

आइतवार, श्रावण ३१ २०८३११:१९
आइतवार, श्रावण ३१ २०८३११:१९
  • images

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रदर्शन मिश्रित देखिएको छ। कम्पनीको खुद नाफा उल्लेख्य रूपमा घटे पनि जीवन बीमा कोष, रिटेन्ड अर्निङ तथा खुद बीमा शुल्क आर्जनमा भने वृद्धि भएको छ।

    कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ५४ करोड ६९ लाख रुपैयाँको तुलनामा ४१.९० प्रतिशत कम हो।

    नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ५ रुपैयाँ ९८ पैसा रहेको ईपीएस गत आवमा घटेर ३ रुपैयाँ ४८ पैसामा सीमित भएको छ।

    जीवन बीमा कोषमा उल्लेख्य वृद्धि

    नाफा घटे पनि कम्पनीको वित्तीय आधारका केही प्रमुख सूचकमा भने सुधार देखिएको छ। कम्पनीको जीवन बीमा कोष १६.२१ प्रतिशतले बढेर ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कोष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ थियो।

    त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ ४८.८७ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको महाविपत्ति जगेडा कोषमा पनि सामान्य वृद्धि भएको छ। यस्तो कोष बढेर ४७ करोड २२ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    बीमा शुल्क आर्जन बढ्यो

    कम्पनीले व्यवसाय विस्तारलाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढाएर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ।

    यद्यपि, कम्पनीको कुल आम्दानी भने घटेको छ। अघिल्लो वर्षको तुलनामा कुल आम्दानी ३.५९ प्रतिशतले घटेर २४ अर्ब ५० करोड ९ लाख रुपैयाँ कायम भएको छ।

    यस अवधिमा कम्पनीको कुल खर्चमा भने सामान्य कमी आएको छ। कुल खर्च ०.६९ प्रतिशतले घटेर २३ अर्ब ६७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।

    दाबी भुक्तानी र अभिकर्ता कमिसन बढ्यो

    कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ९१ करोड ९४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.९२ प्रतिशत बढी हो।

    त्यस्तै, अभिकर्ता कमिसन खर्च पनि बढेको छ। कम्पनीले अभिकर्ता कमिसनमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.२० प्रतिशत बढी हो।

    कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँमा यथावत् रहेको छ। प्रतिसेयर नेटवर्थ भने ९३ रुपैयाँ ३१ पैसा कायम भएको छ।

    यता, कम्पनीको सोल्भेन्सी मार्जिन अनुपातमा भने गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ३.८६ प्रतिशत रहेको सोल्भेन्सी मार्जिन अनुपात गत आवमा घटेर १.३२ प्रतिशतमा कायम भएको वित्तीय विवरणले देखाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend