२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नाफामा फर्कियाे ओरिएन्टल इन्स्योरेन्स, ४९ करोडभन्दा...

नाफामा फर्कियाे ओरिएन्टल इन्स्योरेन्स, ४९ करोडभन्दा बढी खुद नाफा

नाफामा फर्कियाे ओरिएन्टल इन्स्योरेन्स, ४९ करोडभन्दा बढी खुद नाफा

आइतवार, श्रावण ३१ २०८३०१:०६
आइतवार, श्रावण ३१ २०८३०१:०६
  • images

    काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा करिब ४९ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

    कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ११ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो।

    बीमा कोषमा १७७ प्रतिशतको वृद्धि

    कम्पनीको वित्तीय आधारमा पनि उल्लेख्य सुधार देखिएको छ। कम्पनीको बीमा कोष १७७ प्रतिशतभन्दा बढीले बढेर ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको बीमा कोष करिब २ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

    त्यस्तै, कम्पनीले बीमा व्यवसाय विस्तार गर्दै खुद बीमाशुल्क आर्जन करिब २५ प्रतिशतले बढाएर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको छ।

    जगेडा कोषमा पनि सुधार

    कम्पनीको जगेडा तथा सञ्चित आम्दानीतर्फ पनि सकारात्मक परिवर्तन देखिएको छ। महाविपत्ति कोष ३५.७२ प्रतिशतले बढेर ८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ६ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको रिटेन्ड अर्निङ गत आर्थिक वर्षमा सुधार हुँदै ४ करोड ५५ लाख रुपैयाँ धनात्मक भएको छ।

    पोलिसी बिक्रीमा उल्लेख्य वृद्धि

    कम्पनीले नयाँ बीमा व्यवसाय विस्तारमा पनि प्रगति गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३३ हजार ५०१ वटा पोलिसी जारी गरेको कम्पनीले गत आर्थिक वर्षमा ४८ हजार ९४६ वटा पोलिसी जारी गरेको छ।

    यसले कम्पनीको व्यवसाय विस्तारमा सुधार आएको देखाएको छ।

    खर्च घट्दा नाफामा टेवा

    कम्पनीले सञ्चालन खर्च व्यवस्थापनमा समेत सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७६ करोड रुपैयाँ रहेको कुल खर्च गत आर्थिक वर्षमा २९ प्रतिशतले घटेर १ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ।

    तर, लगानीबाट हुने आम्दानी भने घटेको छ। अघिल्लो वर्ष २२ करोड ५७ लाख रुपैयाँ रहेको लगानी आम्दानी गत आर्थिक वर्षमा घटेर १४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।

    यता, अभिकर्तालाई दिइने कमिसन खर्च भने बढेको छ। कम्पनीको अभिकर्ता कमिसन खर्च ६२ प्रतिशतले बढेर ११ करोड २९ लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २.७३ प्रतिशतमा स्थिर रहेको वित्तीय विवरणमा उल्लेख छ।

    समग्रमा, घाटाबाट नाफामा फर्किनु, बीमा कोषमा उल्लेख्य वृद्धि, बीमाशुल्क आर्जन तथा पोलिसी संख्यामा भएको विस्तार र खर्च नियन्त्रण ओरिएन्टल इन्स्योरेन्सका लागि गत आर्थिक वर्षका सकारात्मक पक्षका रूपमा देखिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend