२०८३, आश्विन १९ गते

images

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

सोमवार, भाद्र १ २०८३०४:१४
सोमवार, भाद्र १ २०८३०४:१४
  • images

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका बानियाँले त्यसलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा बुझाएका हुन्।

    नेकपा एमालेले गत साउन ६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। त्यसपछि विश्वासको मत लिनुपर्ने अवस्था आएपछि सोमबारका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।

    तर प्रदेश सभामा बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले विश्वासको मत लिनुअघि नै राजीनामा दिने निर्णय गरेका हुन्।

    १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। तर मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का २ गरी ३८ सांसद मात्रै देखिएका थिए।

    बहुमतका लागि आवश्यक संख्या जुटाउन नसक्ने भएपछि प्रदेश सभालाई सम्बोधन गर्दै बानियाँले राजीनामाको घोषणा गरेका थिए। त्यसपछि उनी प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

    बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्रको शक्ति समीकरणमा आफ्नो पक्ष बलियो बनाउँदै मुख्यमन्त्री बनेका बानियाँ एक वर्ष नपुग्दै पदबाट बाहिरिएका छन्।

    मुख्यमन्त्री बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब प्रदेश प्रमुख देवकोटाले संविधानमा व्यवस्था भएअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend