काठमाडौँ । संघीय सरकार मातहतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्।
महालेखा नियन्त्रक कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार नयाँ प्रणाली कार्यान्वयन गर्न लागिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार संघीय सरकार मातहतका निकायमा कार्यरत कर्मचारीले महिनाको अन्त्यसम्म तलबका लागि पर्खिनुपर्ने छैन। हरेक १५ दिनको अवधि पूरा भएपछि उक्त अवधिबापतको तलब तथा भत्ता भुक्तानी हुनेछ।
अर्धमासिक तलबभत्ता भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयले आफ्नो प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइसकेको जनाएको छ। सम्बन्धित कार्यालयहरूलाई सोही प्रणालीअनुसार भुक्तानी प्रक्रिया अघि बढाउन भनिएको छ।
त्यस्तै, बजेट वक्तव्यमा व्यवस्था गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत यही प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ।
अर्थ मन्त्रालयले कर्मचारीलाई महिनाको अन्त्यमा एकमुष्ट तलब उपलब्ध गराउने परम्परागत प्रणाली परिवर्तन गरी अर्धमासिक भुक्तानीको व्यवस्था अघि सारेको हो।
हरेक १५ दिनमा तलब तथा भत्ता उपलब्ध हुँदा कर्मचारीले नियमित खर्च व्यवस्थापनका लागि महिनाको अन्त्यसम्म पर्खिनुपर्ने अवस्था हट्ने र उनीहरूको दैनिक नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

