काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दुवै प्रदेशमा नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सरकार प्रमुखले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
सुदूरपश्चिममा भट्टको विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार भट्टले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गर्दै सचिवालयमा पत्र पठाएका थिए। सोहीअनुसार आजको बैठकमा प्रस्ताव पेस हुने र त्यसपछि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढ्नेछ।
भट्ट गत साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।
सुदूरपश्चिममा सात मन्त्री र दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था भए पनि हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
प्रदेशसभामा मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य छन्।
कर्णालीमा शाहीले पनि विश्वासको मत लिँदै
यता कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पनि आजै प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावित कार्यसूची छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी पत्र सोमबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। एमालेको समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति हुन केही ढिलाइ भएपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टीका १४ र एमालेका १० प्रदेशसभा सदस्य छन्।

