काठमाडौँ। नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरेको हो।
नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, कालिमाटीमा आयोजित घोषणा समारोह तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरूको नाम सार्वजनिक गरिएको हो।
संघका अनुसार सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई हरेक वर्ष हेमबहादुर मल्ल सम्मान प्रदान गरिँदै आएको छ।
धुलिखेल अस्पताल स्थापनामा माकाजुको योगदान
हेमबहादुर मल्ल सम्मान २०८१ का लागि छनोट भएका डा. रामकृष्ण माकाजु श्रेष्ठले नेपालमा उत्कृष्ट नमुना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
स्वास्थ्य सेवा र संस्थागत विकासका क्षेत्रमा उनको नेतृत्व तथा योगदान, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहप्रतिको प्रतिबद्धता र सार्वजनिक हितमा पुर्याएको योगदानलाई आधार बनाएर सम्मानका लागि छनोट गरिएको संघले जनाएको छ।
सार्वजनिक प्रशासनमा खनालको योगदान
त्यस्तै, हेमबहादुर मल्ल सम्मान २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरिएको छ।
सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको अभिवृद्धिमा उनले पुर्याएको योगदानसँगै नीति निर्माण, प्रशासन सञ्चालन र सार्वजनिक सेवाका क्षेत्रमा निर्वाह गरेको भूमिकालाई सम्मान छनोटको महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ।
सम्मानका लागि योग्य व्यक्तित्व छनोट गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो।
उक्त समितिको सिफारिसका आधारमा संघले माकाजु र खनाललाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
हेमबहादुर मल्ल सम्मानसँगै दुवै सम्मानित व्यक्तित्वलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय र संस्थागत योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रियस्तरमा कदर गर्ने उद्देश्यले सम्मान प्रदान गरिँदै आएको संघले जनाएको छ।
संघका अनुसार सम्मान भदौ ७ गते सोमबार आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ।
२०६० देखि प्रदान हुँदै आएको सम्मान
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरण गर्दै यो सम्मान स्थापना गरिएको हो।
नेपाल जन–प्रशासन संघले वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई यो सम्मान प्रदान गर्दै आएको छ।
हालसम्म सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्।
नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ। नीति निर्माण, पुनरावलोकन तथा मूल्याङ्कनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले संघले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यस वर्ष सम्मानका लागि छनोट भएका डा. माकाजु र खनालको योगदानले सार्वजनिक सेवा, संस्थागत नेतृत्व, व्यावसायिकता तथा उत्तरदायित्वका क्षेत्रमा कार्यरत नयाँ पुस्तालाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।

