काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सोमबार काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुसार पार्टीले यही भदौदेखि सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।
कार्यक्रम सोमबार भदौ ८ गते साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसहित समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा सहभागी भई आफ्ना धारणा, सुझाव तथा समस्या राख्न रास्वपाले नागरिकलाई आग्रह गरेको छ।

