काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशुलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले दुःख व्यक्त गरेको छ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम गरेकोमा सरकारको प्रशंसा गरेको छ। विपद्को यस घडीमा सरकार र नागरिकको साथमा आफूहरू रहेको नाडाले जनाएको छ।
रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्नसक्ने नाडाको भनाइ छ।
नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान र सवारीसाधन भन्सार क्षेत्रमा रहेकाले भएको क्षतिको यकिन तथ्यांक आइनसकेको भए पनि त्यहाँ ठूलो क्षति भएको नाडाले जनाएको छ। घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न नाडाले सरकारसँग आग्रह गरेको छ।
नाडाले बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधार यथाशीघ्र पुनःस्थापना गरी सुरक्षित आवागमनको वातावरण बनाउन र रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडाले सरकारसँग अनुरोध गरेको छ।
क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने नाडाको धारणा छ।
विपद्को समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको पनि नाडाले स्पष्ट पारेको छ।

