काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछन्। उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग उद्धार, राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्नेछन्।
प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रमा राहत सामग्री शीघ्र पुर्याउन तथा क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको पुनर्निर्माण र सञ्चालनलाई तीव्रता दिन आवश्यक निर्देशन दिने तयारी छ।

